बुर्तिबाङ बजार: नमुना सहरको काम सुस्त गतिमा
बाग्लुङ | माघ १२, २०७९
ढोरपाटन: साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो । तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ ।
हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ । तर हालसम्म पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुनसकेका छैनन् । बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयवासीको गुनासो छ । बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० सहरमध्ये नमूनाका रुपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२÷७३ देखि पूर्वाधार थालिएको हो । सडक कालोपत्र, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत काम अझै हुन नसकेका स्थानीय प्रेमबहादुर विकले बताउनुभयो ।
“बजार क्षेत्रको सडक साँघुरो छ, दुर्घटनाको जोखिम छ”, उहाँले भन्नुभयो । बजार क्षेत्रका चोक, फुटपाथ र गल्ली जोखिमयुक्त छन् । बसपार्क साँघुरो छ । खानेपानीको समस्या पनि उस्तै छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका वडाध्यक्ष बानबहादुर छन्त्यालले नयाँ सहर आयोजनाको काम सन्तोषजनक नभएको बताउनुभयो । “बजार क्षेत्रमा खोलाको जोखिम छ, यसतर्फ ध्यान गएको छैन”, उहाँले भन्नुभयो ।
बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न नयाँ सहर आयोजना सञ्चालन गरिएको हो । आव २०७२÷७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भएपश्चात १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । करिब एक किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ । कुत्थाप्लामा आयोजनाको कार्यालय निर्माण गरिएको छ । बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन् । व्यवस्थित बसोबास निर्माण र पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको प्रमुख अधिकारीले बताउनुभयो ।
“बाँकी पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त हुन सकेको छैन”, उहाँले भन्नुभयो, “चारवटा मुख्य सडक निर्माण गर्न बाँकी छ ।” आयोजनाको एक हजार रोपनी जग्गा किन्ने लक्ष्य छ । आयोजनाका लागि चालु आवमा रु १५ करोड ६० लाख विनियोजन भएको अधिकारी बताउनुहुन्छ । भब्रेटामा सभाहलको काम सुरु भएको छ । खप्तरीबाङमा बसपार्क निर्माणको तयारी छ । हाटबजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धको काम अझै हुनसकेको छैन । बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

