अभिनेत्री मिरुनालाई आमाको प्रश्न– ‘बौद्ध धर्म भन्दा साँचो केही छैन भन्थ्यौं त?’

'आँटिलाले  प्रतिकार गर्छन् र आँट नपुग्नेले पिड़ा लुकाएर रुदैँ बस्छन् ।'

पाेखरा | जेठ १९, २०७९

अभिनेत्री मिरुनालाई आमाको प्रश्न– ‘बौद्ध धर्म भन्दा साँचो केही छैन भन्थ्यौं त?’

पोखरा:  दुवैपक्षविच सहमती भएपनि अझैपनि अभिनेत्री मिरुना मगरको झापड काण्डले सामाजिक सञ्जाल सेलाउन सकेको छैन ।  विभिन्न समुदाय दुइ कित्तामा बाडिएर एकले अर्काे पक्षलाई गल्ती औल्याउँदै गालीगलौज गरिरहेका छन् ।

 

यसैविचमा बेलायतबाट अभिनेत्री मिरुनाको आमा शशी थापा सुब्बाले ९ बुँदामा सुझाव मिश्रित प्रश्न तेर्साएकी छिन् ।

 

थापा सुब्बाले ७ औं बुँदामा प्रश्न गरेकी छिन्, ‘अनि तिमी भन्थ्यौं त बौद्ध धर्म भन्दा साँचो केही छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउँने र लामालाई बचाउँने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी ।  माफ गर !
 

छोरी मिरुनालाई आमाले के लेखेकी छिन् ?

 

छोरी मिरूना,
सन्चो  बिसन्चो सोधीन है । यसो दुईचार कुरो बुँदागत लेखी पठाउँकी भनेर मात्र हो ।

 

१. शहरमा र सामाजिक संजालमा उठेका केही कुराहरू, निष्कर्षहरू र प्रश्नहरूले तिमीलाई अपठ्यारो पार्न खोजेको होला तर फिकर नगर ममीले बुझ्छु । सबैभन्दा धेरै आएको कुरो हो झापड चै नहान्नु  पर्ने ! सबैको निष्कर्ष पनि त्यही तर के पर्याे त्यति साह्रो र हातै चलाउनु पर्ने अवस्था आयो ?

त्यो  तिम्रो ममीलाई थाहा छ कि महिलाहरू जब हिंसामा पर्छन त्यति बेला जस्तै विद्वान भएपनि विवेकले  काम गर्दैन । 'आँटिलाले  प्रतिकार गर्छन र आँट नपुग्नेले पिड़ा लुकाएर रुदैँ बस्छन ।' 

 

त्यसैले त घटनापछी यसो गरेहुने त्यसो नगरे हुने भन्ने हाम्रो विचारहरू काम लाग्दैनन् भन्ने कुरो । ‘ओ माई गड’ त्यतिबेला मैले त्यो भिडीओमा तिम्रो अनुहारमा मेरो ज्ञानी छोरी मिरूना होइन, आफ्नो स्वभिमानमा चोट पुगेर रन्थनिएको घाइते बघेनी देखेँ र मैले त सोचेको थिएँ त्यो लामाको दिन पुग्यो अब भनेर, तर तिम्रो स्वविवेक कति चाड़ै कन्ट्रोलमा आएछ है !

 

२. दोस्रो कुरो हो माफी मागेपछी प्रहरीकोमा नलानु पर्ने नि भन्ने, तर मलाई थाहा छ तिमीले आज थानामा नलगेको भए फुर्वाालाई छुटाउन पर्ने थिएन र मिरूनालाई मिलापत्रको लागि पहल गर्नुपर्ने थिएन उनिहरूले अनि झन ठुलो हङ्गामा गर्ने लाईसेन्स पाउने पक्का थियो । कम से कम यति अलिकती राहत चै फुर्वालाई छुटाउनुले गर्दा  नै पाएको हो तिमीले ठिक पो गरेछौ छोरी  । अर्को त्यति बेला सबैको  दिमागमा पनि यो कुरो भरिन्थ्यो कि आफै सजाय दिएर माफी दिने उनि को हो ? साँचै हो भने प्रहरीकोमा किन लगेन ? भन्ने कित्तामा सायद म लगायत  सबै  पुग्ने थियौँ   ।

 

३. अर्को डरलाग्दो कुरो हो सबैको दिमागमा एउटै प्रश्न छ सार्वजनिक ठाँउमा त्यसरी पवित्र बस्त्र लगाएको लामालाई किन झापट हान्यौ ? किन सबैको अगाडी लाजै मर्दो हुने गरी माफी मगायौ  ?

तर सबैले  भुले की त्यही पवित्र बस्त्र लगाएका लामाको पापी हातले पनि सोही सार्वजनिक ठाउँमा मिरूनाको संवेदनशिल  अंगमा समातेर निचार्यो भन्ने कुरो त्यो पनि तिन–तिन चोटी तर मैले भुलिन छोरी । धन्न म पनि तिमीले झापड हानेकोमा र यसरी  आफ्नो करियर डुबाएकोमा विस्मात मानेर थकथकाउने र कर्ण फुसफुस गर्ने आमा परिन त्यसैले यो मानेमा तिमी भाग्यमानी हौ  छोरी ।

 

४. अर्को कुरो लामालाई नेपाली बोल्न आउदैन पनि भन्दैछन कोही त तर भाषाले हात चल्ने होइन मुख मात्र हो भन्ने कुरो तिम्रो ममीलाई थाहा छ ।

 

५. अब मलाई थाहा छ तिमीले मुद्धा मिलाएकोमा नारीवादी भनौदा डलरप्रेमी सुन्दरीहरू बोल्न थाल्नेछन है नानी, तर तिनीहरू शहरमा तिम्रो ज्यान लिनेहरू उफ्रिरहेको बेला तिमीसँग उभिनु आउने होइनन् कि एउटा बन्द कोठामा छिरेर अब यो काण्डले कहिले डरलाग्दो रूप लिन्छ र घटना घट्छ अनि  म कसरी प्रस्तुत हुने भनेर तानाबाना बुनिरहेका हुनेछन, धन्न तिमीले मध्यम बाटो अपनाएर आफ्नो ज्यान बचायौ छोरी ! अब लेख्नेछन मिरूनाले हिंसाको विरूद्ध उठेको कदम किन रोकिन् ? हामी थियौ नि तर मिलापत्र गरेछिन् भन्दै, तर फिकर नगर जे गर्यो ठिक गर्यौ तिम्रो ममी खुशी छु !

 

६. वरिष्ठ कलाकार, लेखक, समाजसेवीहरू पनि हेर र पर्खको स्थितीमा हुनुहुन्छ होला है । अहिले तिम्रो लागि बोली हाल्दा लेखी हाल्दा फेरी गाली खाईन्छ बेस्सरी । जतिले आँट गरेर लेखे नि सबै बाझ्दै उत्तर दिदा हैरान छन ।

 

महानायक केशमा राजेस हमाल नै महानायक हुन् तर वरिष्ठ दिदीको पक्षमा पनि वकालत गर्नु भ्यायौ त्यो बेला तर अहिले वहाँहरूलाई पनि अप्ठ्यारो छ नानी झापड हान्ने त मुर्ख हो फेरी तिम्रो कुरो पत्याउनुलाई सिसिटिभी फूटेज छैन, कोट्याएको वा निचोरेको । देख्नुभएको छैन कसरी बोलोस विचराहरू । चलचित्र बोर्डले त कलाकारले गल्ती गरेको हो भन्दै माफी मागेको भिडिओ नै सार्वजानिक भएको देखे खै के हो थाहा भएन ।

 

७. अनि तिमी त भन्थ्यौं बौद्ध धर्म भन्दा साँचो केही छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउँने र लामालाई बचाउँने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी माफ गर !

 

८. तिमीलाई ‘गो व्याक’ भन्दै  कराउने देसखि युके फर्किनु  भन्न समेत भ्याएछन् हगी ?

तिनीहरूलाई भन्नु कि मेरो नेपालको सम्पतीहरू पुर्ख्यौली धरोहर र निशानीहरू मासेर ,नेपाली नागरिकता खोसेर, बृटिशको सिटिजनसीप दिलाउने तागत छ भने लु राजी भन्नु हा नरिसाउनु विचराहरू संग ।  तर यूकेमा पनि खै सुरक्षित होला जस्तो लागेन एकजना वरिष्ठ पिपलपाते कि के भन्नेले त छुने मात्र होइन किस खाने कुरो सम्म गर्न भ्याएछन ! हुन त देशको होइन यहाँ आ–आफ्नो नेचर र संस्कारको कुरो हो, त्यसैले नेपालमा पनि सुरक्षित छौ आज ।

 

९.  बिस्तारै सत्य कुरो खुल्दैछ । बिस्तारै तिमीलाई पत्याउदै जाँदैछ, म देखिरहेछु तिम्रो निम्ती धेरै हातहरू व्यस्त छन् गलतलाई गलत हो भनेर लेख्न, धेरै मनहरू आतुर छन् तिम्रो सहि निर्णयलाई अंगाल्न, थोरैको रिस र आवेगमा जलेर धेरैको आँट र साहसको प्रतिक बन्दैछौ छोरी ।

 

अस्तिनै फोनमा तिमीले कस्तो साह्रो पर्यो ममी एमएको थेसिस सकाउन भनेर भन्दा मैले हाँस्दै भनेको कुरो थाहा छ छोरी ? जब जिवनको (सोधपत्र ) थेसिस लेख्न सुरू गर्नेछौ नि, यी एमएको थेसिस त खेलाइची लाग्छ भन्दा तिमीले रिसाउदै ‘हे ममी जेमा पनि यस्तो अप्ठेरो कुरो नमिसाउनुन’ भनेको हैन ? हाहाहा

तर यो थेसिसमा चै किन लामाले त्यसो गरे ? भन्दा पनि किन लामालाई सजाय दिए भन्ने भुस भरियो नि आज हाम्रो दिमागमा ! भन्ने टपिकमा केहि शब्दहरू भर्नु है !
किनकी जिवनको थेसिसमा यति नै शब्दहरू भन्ने हुदैन । असिमित अक्षर र शब्दहरू मिलेर मात्र थेसिस टुङ्गीन्छ  छोरी ।

ल त जोगिएर बस्नु, जे कामको लागि त्यहाँ छौ पुरा गर्नु । आजलाई यति बाँकी भेटमा ।
 

उहि तिम्रो ममी
शशी थापा सुब्बा, युके ।

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ ।  लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...

थप पढ्नुहोस्