आहा ! रारा पोखरा गोल्डकपः ‘चर्च ब्वाइजको पहिलो खेल पहिलो जित’
पाेखरा | पुस १५, २०७९
पोखराः सहारा क्लबले आयोजना गरेको २२ औं संस्करणको आहा ! रारा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले प्रतियोगितामा पहिलो खेलमा पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई २–१ ले स्तब्ध पारेको हो ।
खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्यो । खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी पोस्टमा बल चुमाएका थिए ।
पहिलो हाफमा दबाबमा रहेको चर्च ब्वाइज दोस्रो हाफमा भने खेल सुधारेको थियो । अधिकांश समय नेपाल पुलिसलाई दबाबमा राख्न सफल भयो । पटकपटक पोस्ट प्रहार गरे पनि ७७ औं मिनेटमा मात्रै गोल गर्न सफल भयो ।
खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका तर्फबाट अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिनअघिमात्रै मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।
खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले प्रहार गरेको बल नेपाल पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठको हात छुँदै बाहिरियो । तत्पश्चात चर्च ब्वाइजले पाएको कर्नर किक तेज तामाङले प्रहार गरेका थिए ।
तामाङको प्रहार विपक्षी टिमले सुरक्षित गर्न खोजे पनि बल एरिकको नजिक पुगेको थियो । बललाई हेडिङ गर्दै उनले बल पुनः विपक्षी पोस्टमा फ्याँकेका थिए । सोही ‘डिफ्लेक्ट’बललाई अञ्जनले प्रहार गर्दै सुन्दर फिनिसिङ दिएका हुन् ।
निर्धारित समयको अन्तिममा नेपाल पुलिसले डिबक्स एरिया नजिकै फ्रिकिक पाएको थियो । बुद्ध लामाले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बललाई नीरकुमार राईले क्रस पास दिएका थिए । उनको पासमा भरत शाहले हेमन्त श्रेष्ठले हेडिङमार्फत गोल गरेका थिए । तर, सहायक रेफ्री प्रकाश भुजेलले अफसाइड दिएपछि उक्त गोलले मान्यता पाएन ।
खेलको अन्तिम मिनेटमा पाएको अवसर पनि गोल मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच भनाभनसमेत भएको थियो । लगत्तै निर्धारित समय सकिएर खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको पहिलो हाफमै गोल गर्र्दै चर्च ब्वाइजले अग्रता लिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्र्दै चर्चब्वाइजले पुनरागमन अग्रता लिएको थियो ।
चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’लाई अनन्त तामाङले प्रहार गर्दै विपक्षी गोलपोस्टको जाली चुमाएका थिए । सहारा वर्ष खेलाडी घोषित तामाङ पनि हालैमात्र थ्रीस्टार छोडेर चर्चमा अनुबन्धित भएका हुन् ।
आहा रारा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग खेल्नेछ । चर्च ब्वाइज यसै सिजन ए डिभिजनमा उक्लिएको हो । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलपछि नेपाल पुलिस क्लबका सहायक प्रशिक्षक रविन श्रेष्ठले आफ्ना खेलाडीले राम्रो खेले पनि लाइन्सम्यानबाट गम्भीर गल्ती भएको प्रतिक्रिया दिए ।
‘समग्रमा आजको गेम एकदमै कम्पिटेटिभ भयो । टिमले राम्रै गरेको हो, राम्रै मान्नुपर्छ । तर, जुन किसिमको लाइन्सम्यान हुनुपर्थ्यो, यत्रो टुर्नामेन्ट भइसकेपछि लाइन्सम्यान राम्रो हुनुपर्थ्यो,’ उनले भने, ‘केटाहरुको बाँकी खेल राम्रै थियो । हामीले पाएको गोल लाइन्सम्यानले दिनुपर्छ । त्यस्तै निर्णयले हो गेममा टर्निङ प्वाइन्ट हुन्छ ।’
चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले नयाँ टिम भएकाले खेलाडीलाई एकआपसमा फर्ममा ल्याउनै गाह्रो भए पनि पछि सुधार गरेको सुनाए ।
‘पछि हामीले खेलको फर्मेसन चेन्ज गर्यौं,’ उनले भने, ‘हामीले लामो, राम्रोसँग तयारी गरेर आउन पाएनौं । तर, जेहोस् प्लेयरहरुले छोटो समयमै भए पनि फर्ममा आउन सकेको मान्नुपर्छ ।’
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...