कक्षा–४, विद्यार्थी ४ !
पाेखरा | पुस ६, २०७९
पोखराः घडीमा बिहानको १० बज्यो, कार्यालय सहयोगीले घण्टी बजाए । विद्यार्थीहरु विद्यालयको प्रांगणमा प्राथनाका लागि लाइनमा बसे ।
प्राथना लागि लाइनमा १२ विद्यार्थी मात्र सहभागी थिए । कुनै समय १ सय ६६ जना विद्यार्थीहरुले भरिने प्रांगणमा अहिले १२ जना विद्यार्थीहरु मात्र बिहानको प्रार्थनामा उभिए ।
उल्लेखित दृश्य हो, कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकस्थित लान्द्रुक आधारभुत विद्यालयको । बालबिकाश केन्द्र हुँदै कक्षा ५ सम्म पढाई हुने विद्यालयमा भर्ना भएका सबै विद्यार्थी विद्यालयमा भने आउँदैनन् ।
दुईवर्ष कोरोना भाइरसका कारणका गाउँ फर्किएका विद्यार्थीहरु यसै विद्यालयमा आएर अध्ययन गरेपनि अहिले उनीहरु पुनः शहरका विद्यालय नै फर्किएको लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक नारायणदत्त त्रिपाठीले बताए ।
अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकका प्रायः विद्यालय पोखरा लगायतका सहरमा अध्ययनरत छन् । यहाँबाट अर्काे विद्यालय टोल्कामा रहेको हिमालयन माध्यमिक विद्यालय हो । जहाँ पुग्न करिब १ घण्टा हिँड्नुपर्छ ।
‘कक्षा ५ देखि माथि पढ्न हिमालयन माविमै जानुपर्ने बाध्यता छ’ त्रिपाठीले भने ‘गाउँपालिकाले रिङरोडको अवधारणा अगाडी सारेको छ । योजना सम्पन्न भए गाउँमा स्कुल बस हालेर विद्यालयलाई मर्ज गर्ने सोचेका छौं ।’
त्रिपाठीका अनुसार योजना सम्पन्न भएपछि विद्यार्थीहरुलाई केही सहजता हुनेछ ।
विद्यार्थीहरु कम भएको कारण नै बालबिकास र कक्षा एकका विद्यार्थीहरुलाई एकैठाउँमा राखेर अध्यापन गराउँदै आएको प्रधानाध्यापक त्रिपाठीले बताए । ‘विद्यालयमा यस वर्ष भर्ना भएका विद्यार्थीको संख्या जम्मा १८ जना हो, प्रधानाध्यापक त्रिपाठीले भने, ‘भर्ना भएका सबै विद्यार्थीहरु विद्यालयमा आउँदैनन्, जसकारण बालबिकास केन्द्र र कक्षा एकका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएका छौं ।’
उनका अनुसार बालबिकास केन्द्रमा ३ जना, कक्षा १ मा २ जना,कक्षा २ मा ३ जना, कक्षा ३ मा ६जना कक्षा ४ मा ४ जना र कक्षा पाँचमा ३ जना भर्ना भएका छन् । कक्षा ५ मा ३जना विद्यार्थी भर्ना भए विद्यालय नआउँदा कक्षा बन्द अवस्थामा रहेको छ ।
लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक त्रिपाठीले सहरीकरणको समस्याले गाउँको विद्यालयमा विद्यार्थीहरुको संख्या कम भएको भनाई व्यक्त गरे ।
‘गाउँ अलि विकट नै छ, ढुवानी खर्च महंगो छ,पर्यटन हिसाब बाहेक अन्य क्षेत्रमा गाउँ पछाडी छ, उनले भने, ‘गाउँबाट शहर झर्नेको संख्या कम छैन्, बैदेशिक रोजगारीको पनि गाउँको प्रमुख समस्या हो ।’
श्रीमान् विदेश गए छोराछोरी पढाउन सहर झर्ने प्रचलनको असर गाउँमा परेको उनको गुनासो छ । ‘यहाँमात्र हैन गाउँका अन्य विद्यालयमा पनि संख्या न्यून छ’ उनले जनाए ।
विद्यार्थीहरुलाई आवासिय शिक्षामा जोड दिन सके गाउँबाट शहरमुखी अध्यापन अन्त्य हुने प्रधानाध्यापक त्रिपाठीको भनाई छ ।
‘नेपालमा दोहोरो शिक्षा प्रणाली नै प्रमुख समस्या देख्छु, धनी पुँजीपति र सामान्य परिवारका छोराछोरीले पढ्ने विद्यालय फरक छ, उनले भने, ‘सबैलाई समान शिक्षा दिन आवासिय विद्यालयसँगै २४ घण्टा विद्यार्थीहरु शिक्षकको निगरानीमा राख्नसके यसबाट विद्यार्थीहरुले लाभ पाउनेछन् ।’
२०२१ सालमा स्थापना भएको विद्यालयको केही विद्यालय क्षेत्रको केही पुर्वाधार परिवर्तन भएपनि विद्यार्थीको संख्यामा भने केही वर्षदेखि संख्या घट्दो क्रममा रहेको छ । अहिले विद्यालय भवन रहेको जग्गा २०४५ सालमा गुरुदत्त र इन्द्रकला पौडेलले निशूल्क दान गरेका हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ७ मा आधारभुत तहका ५ वटा र एक माध्यमिक तहसम्मका विद्यालय रहेका छन् ।
पहिले विद्यार्थी अहिले शिक्षक
जलकबहादुर पौडेल लान्द्रुक आधारभुत विद्यालयका निजि स्रोतका शिक्षक हुन् । कक्षा ५ सय सम्म लान्द्रुक आधारभुत विद्यालयमा अध्ययन गरेका पौडेल अहिले सोहि विद्यालयमा अस्थायी शिक्षककारुपमा कार्यरत छन् ।
कक्षा ५ पछि ६ देखि १० सम्म टोल्कास्थित हिमालयन माविबाट एसएलसी पास गरेका पौडेलले उच्च शिक्षा र स्नातक तहको पढाई पोखराबाट पुरा गरेपछि विगत १५ महिनादेखि लान्द्रुक आधारभुत विद्यालयमा गणित र विज्ञान विषय पढाउँदै आएका छन् ।
स्यानीय कमल गुरुङले गाउँको विद्यालयमा गुणस्तरीयता शिक्षा नभएको भन्दै अभिभावकहरु शहर केन्द्रित विद्यालयमा विद्यार्थी भएको बताए ।
‘गाउँको विद्यालय हो, हामीले पढ्ने समयमा १ सय ६० बढी विद्यार्थीहरु हुन्थ्ये, अहिले किन विद्यार्थी भएनन् भन्ने प्रश्न कसैले गरेनन्, गुरुङले भने, ‘गाउँको विद्यालयमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न केही स्थानीयले आफ्नै खर्चमा शिक्षक समेत राखे त्यसलाई सही सदुपयोग गर्न सकिएन ।’
सोहीकारण अभिभावकहरु गुणस्तरीय शिक्षाको लागि शहर केन्द्रित भएको बताउँदै उनले गाउँमा निम्नवर्गीय परिवारका विद्यार्थीमात्र रहेको सुनाए ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...
रसुवा: जिल्ला प्रहरी कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ । कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले गत १ ...