सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल
काठमाडाैं | मंसिर १०, २०७९
काठमाडौंः मंसिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।
प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ ।
सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहनुभयो । विसं २०४८ यता भएका निर्वाचनमा देउवा विजयी हुँदै आउनुभएको छ ।
दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी हुनुभयो । उहाँले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गर्नुभयो ।
बडू यसअघि विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
यसैगरी श्रम तथा रोजगारमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहनुभयो । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उहाँ नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गर्नुभएको थियो ।
नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी)बाट अछाम १ मा श्रममन्त्रीसमेत रहनुभएका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रहनुभएका बैतडीका नरेन्द्र कुँवर (विजयसुन्दर) कञ्चनपुर १ का बीना मगर, कैलाली २ का भगत बडुवाल र ३ का कृष्णकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा पराजय व्यहोर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य भएको छ ।
नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर निर्वाचनअघि पुनःएमालेमै फर्किनुभएको थियो ।
एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित हुनुभयो । प्रदेश सरकारका बहालवाला दुई मन्त्रीले पराजय हुँदा दुई मन्त्री भने विजयी हुनुभएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल कैलाली क्षेत्र १ को प्रदेशसभा २ बाट पराजित हुनुभएको छ । उहाँ नागरिक उन्मुक्ति पार्टीका प्रत्यासीसँग पराजित हुनुभएको हो । डा रावल पाँच वर्ष अघि प्रत्यक्षतर्फको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।
प्रदेशका सामाजिक विकासमन्त्री एवं कांग्रेस नेता गोविन्दराज बोहरा डडेलधुरा २ को प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । उहाँ स्वतन्त्र उम्मेदवार डा तारा जोशीसँग पराजित हुनुभयो । बोहरा पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरदेव जोशी रहनुभएको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी कैलाली ४ बाट र सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल कञ्चनपुर ३ बाट प्रदेशसभामा निर्वाचित हुनुभयो । दोस्रो पटक प्रदेशसभामा निर्वाचित सोडारी र रावलले क्रमशःएमालेका भीमबहादुर देउवा र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई पराजित गर्नुभयो ।
प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा (एकीकृत समाजवादी)का नेता अमरबहादुर साउद कैलालीबाट र लालबहादुर खड्का कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता अक्कलबहादुर रावल अछामको प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित हुँदा सोही पार्टीका नन्दबहादुर साउद भने कैलालीको प्रदेशसभा सदस्यमा पराजित हुनु भयो । प्रदेशसभाका निवर्तमान सदस्य एवं एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित हुनुभयो ।
निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाउनुभएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित हुनुभयो । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित हुनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित हुनुभएको छ ।
यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट रमेश धामी, कैलाली, खगराज भट्ट, डडेलधुरा, शिवसिंह ओली, डोटी, ओमविक्रम भाट, कञ्चनपुर, भीम भण्डारी बझाङ, मानबहादुर धामी, दार्चुला र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउदसहित आठ जना हुनुहुन्छ ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच जना र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित हुनुभएको छ ।
यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर र सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी हुनुहुन्छ । डडेलधुराबाट स्वतन्त्र उम्मेदवार डा तारा जोशी पनि प्रदेशसभामा विजयी हुनुभएको छ । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...
रसुवा: जिल्ला प्रहरी कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ । कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले गत १ ...