वडा सदस्यमा हारेका बैरागी, अहिले संसदको यात्रा

पाेखरा | मंसिर ९, २०७९

वडा सदस्यमा हारेका बैरागी, अहिले संसदको यात्रा

पोखरा: अवसर आएर पनि सफलता आफ्नो पक्षमा पार्न नसक्ने ‘अभागी’ नेताको विम्ब बोकेका थिए एमाले नेता दामोदर बैरागीले । २०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने चाहना थियो, तर मतदाताले वडा सदस्यमै हराइदिए ।


बैरागी २०७८ सालमा एमालेको कास्की जिल्ला अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाइँको चेपुवामा परे । कास्की जिल्ला अध्यक्ष पृथ्वीसुब्बा समूहका मनबहादुर गुरुङले जिते ।


माघ २०७७ मा भूमिसम्बन्धी समस्या समाधान आयोगको कास्की जिल्ला अध्यक्षमा नियुक्त भएका बैरागी शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि ६ महिनामै फालिए । लामो समयदेखि राजनीतिमा सहभागी भएर पनि कुनै लाभको पदमा पुग्न नसकेका बैरागी यसपटक भने प्रतिनिधिसभा सदस्यमा चुनिए ।


यसअघि वडा सदस्यमै पराजित बैरागीलाई यसपटक कास्की क्षेत्र नम्बर ३ का मतदाताले संघीय सांसदमा जिताएका छन् । कर बढाएको भन्दै जनस्तरमा आलोचित गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालप्रति मतदाताको विकर्षण र सत्तारुढ गठबन्धनको असन्तुष्ट पक्षको मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पाउँदा एमालेका बैरागीले चुनाव जिते ।


बैरागीले २२ हजार ९८० मत ल्याउँदा बरालले १७ हजार ५३५ मत पाए । उनीहरुबीचको मतान्तर ५ हजार ४४५ रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।


सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका क्रममा कास्की–३ मा कांग्रेसको दाबी थियो । तर माओवादी केन्द्रले पाएपछि पार्टीभित्र असन्तुष्टि थियो । अर्कोतर्फ शहीदपुत्री अनिता भूर्तेलले बरालकै विरुद्धमा बागी उम्मेदवारी दिएकी थिइन् । उनले उल्लेख्य मत प्राप्त गर्न नसके पनि रामजीका विपक्षमा माहौल बनाउन सहयोगी बन्यो ।


अर्थमन्त्री बराल चुनावी घरदैलोमै रहेका बेला निर्वाचन आयोगले गण्डकी सरकारलाई चुनावको मुखमा घटाइएको करको दर सच्याउन निर्देशन दियो । यसले पनि बराललाई थप दबाबमा पार्‍यो । फलस्वरुप जनस्तरमा बढेको असन्तुष्टिको मत राष्ट्रिय स्वतन्त्र पार्टीले पायो भने एमालेले आन्तरिक असन्तुष्टिको केही मतबाहेक ठूलो जनमत जोगाउन सफल भए ।


अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमालेका जगत विश्वकर्माले चुनाव जितेका थिए । यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको पाँच दलीय गठबन्धन हुँदा माओवादी केन्द्रक बरालले जित्न सक्ने आँकलन नेताहरुको थियो । तर २०७४ सालमा प्रदेशसभामा बराललाई नै निर्वाचित गराउन खटिएका बैरागीले यसपटक उनलाई नै पराजित गरे ।


मजदुर संगठनको कामबाट राजनीतिमा परिचय बनाएका ५६ वर्षीय बैरागी २०३६ को विद्यार्थी आन्दोलनपछि राजनीतिमा आकर्षित भएका थिए । अनेरास्ववियु (एकता पाँचौं) को सहप्रारम्भिक कमिटी सदस्य हुँदै अध्यक्ष भएका उनी २०३९ मा नेकपा (माले) मार्फत् कम्युनिस्ट पार्टीमा लागेका हुन् । उनले २०४० देखि २०४३ सालसम्म अखिल नेपाल किसान संघमा र करिब तीन वर्ष भूमिगत बनेर पार्टीको काम गरेका थिए ।


२०४५ देखि १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मार्फत मजदुर आन्दोलनमा सक्रिय उनी २०५३ मा एमाले कास्कीको सदस्य बने । पार्टीका विभिन्न तह र पदमा रहेर काम गरेको बैरागी २०७० मा एमाले कास्कीको सचिव बनेका थिए । अहिले उनी एमालेको गण्डकी संगठन कमिटीको सचिवालय सदस्य छन् ।

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्