कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

पर्वत | असोज ८, २०७९

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

कुश्मा  ः  पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ ।


 
माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । 

 

विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाई सँगसँगै आम्दानी पनि गर्दै आएका छन् ।  

 

विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ । 

 

“हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ”, शिक्षक अजय ज्ञवालीले भन्नुभयो, “विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ, किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ ।”

 

विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ ।  उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन् ।  

 

“घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन”, अभिभावक केशव तिवारीले भन्नुभयो, “उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौँ ।” 

 

विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । “मेरो सानैदेखि कृषि रुचिको विषय हो”, कक्षा १० अध्ययनरत विद्यार्थी रञ्जिता भुजेलले भन्नुभयो, “सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उहाँहरुलाई सघाउने गर्थे । सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै निःशुल्क पढ्न पाएकामा खुसी छु ।” 

 

अर्का विद्यार्थी प्रदीप भुसालले कृषि पढेपछि जागिर पाउन मुस्किल नहुने र आफ्नै  जग्गामा व्यावसायिक खेती गर्न पनि सकिने भएकाले बाली विज्ञान पढेको बताउनुभयो । “धेरै पालिकामा कृषि पढेका जनशक्ति चाहिने रहेछ”, उहाँले भन्नुभयो, “अन्य विषय पढेर शैक्षिक बेरोजगार बन्नुभन्दा कृषि पढेर आफ्नै घरगाउँमा नै आत्मर्निभर भएर काम गर्न ठीक लाग्यो ।”

 

विसं २०१७ मा स्थापना भएको विद्यालयले २०७० सालदेखि प्राविधिकतर्फ बाली विज्ञान विषय पढाउन सुरु गरेको थियो । सुरुआतका दिनमा अभिभावक र विद्यार्थीलाई बाली विज्ञानका बारेमा बुझाउन ज्यादै मुस्किल भएको विद्यालयको अनुभव छ । 

 

“पहिलो वर्ष कृषि पढ्न चाहने विद्यार्थी पाउन नै मुस्किल भयो”, विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले भन्नुभयो, “हामीले दुई/तीन वर्ष चाहिँ कृषि विषयको महत्वका बारेमा बुझाउन घरदैलो गर्नुगर्‍यो, कहिलेकाहीँ त प्राविधिक शिक्षा पढाई सुरु गरेर साँच्चीकै गल्ती गर्‍यौ कि भन्ने पनि लाग्यो, अहिले भने अभिभावक आफैँ छोराछोरी भर्नाका लागि विद्यालय आउने गर्नुभएको छ ।” 

 

विद्यालयले प्राविधिक तथा व्यावसायिक पढाइ सञ्चालनका लागि खर्च जुटाउन महायज्ञ गरेको थियो । अहिले विद्यालयसँग आफ्नै भवन, प्रयोगशाला, खेतीका लागि जमिन र छात्राबास पनि रहेको छ ।

 

प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन इकाइ धानजोन बागलुङ र विद्यालयको साझेदारीमा च्याउ टनेल, माछापोखरी, प्लास्टिक पोखरी निर्माणलगायतका संरचनासमेत विद्यालय परिसरमा बनेका छन् ।  

 

“टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर आफ्नै होस्टेल निर्माण गर्‍यौ”, प्रअ रिजालले भन्नुभयो, “चमेनागृह पनि सञ्चालनमा ल्याएका छौँ । होस्टेलमा बस्ने विद्यार्थीले साँझ र बिहान खानाको मासिक रु तीन हजार ५०० तिरे मात्र पुग्छ, बस्नका लागि कुनै शुल्क लाग्दैन ।”

 

नेपाल सरकारले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा राखेको छ । “नमूना विद्यालयमा परेपछि सरकारबाट उपलब्ध हुने सेवासुविधाका कारण सहज भएको छ”, उहाँले भन्नुभयो । अहिले सरकारी अनुदानमा नौ बालीविज्ञान पढाउने शिक्षक छन् । भौतिक संरचना, प्रयोगशालादेखि धेरै कुरामा आत्मनिर्भर बनेका छौँ ।”

 

यस विद्यालयमा पर्वत र बागलुङका विद्यार्थी पढ्न आउँछन् । विद्यालयस्तरको पढाइ सकेपछि कोही पनि विद्यार्थी बेरोजगार बस्न नपरेको विद्यालयका शिक्षक केदार सापकोटाको अनुभव छ । उहाँका अनुसार अहिलेसम्म यस विद्यालयबाट दुई सय बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । 


    
विद्यालयले भाडामा लिएको २० रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, माछापालन, मौरीपालन, धान खेतीलगायतका उपज फलाउने गरेका छन् । गत वर्ष १२ कक्षा सकेका विद्यार्थीले एक वर्ष ‘ओजिटी’ गरेबापत सरकारले १२ हजार र आफैँले लगाएको उत्पादन बिक्री गरेबापत सात हजार रुपैयाँका दरले जम्मा १९ हजार रुपैयाँ लान सफल भएका थिए । 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्