पोखरामा चन्दा उठाउँदै विप्लव माओवादी, सेक्रेटरी भन्छन् – ‘सहयोग मागेको हो’
पाेखरा | भदौ ३०, २०७९

पोखराः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी यतिबेला पोखरामा आर्थिक सहयोग जुटाउन व्यस्त छ ।
पार्टीको जिल्ला कमिटी कास्कीले नवौं महाधिवेशन आयोजनार्थ सहयोगको नाममा पोखराका व्यापारी, व्यवसायीलाई पत्र काटेर चन्दा संकलन सुरु गरेको हो । पार्टीका कास्की सेक्रेटरीको हस्ताक्षर रहेको पत्रमा व्यवसायीसमक्ष अपील गरिएको छ ।
सुरुमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको पत्र थमाउने र पछि संकलनार्थ टोली परिचालन गरिएको छ । अनुरोधपत्रमा रकम खुलाइएको छैन तर लिने र दिनेबीच बार्गेनिङ् भने गरिएको छ ।
पत्र थमाएर गएको केही दिनमा ३–४ जनाको समूह रकम माग गर्न आउने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले जानकारी दिएका छन् । ‘यति नै भनेर पत्रमा उल्लेख गरिएको छैन’ उनले भने ‘तर उहाँहरुको माग व्यापारको हिसाबले बढी नै छ ।’
‘तपाइले कति दिनुभयो ?’ भन्ने प्रश्नमा उनले यति नै भनेर नखुलाए पनि कडै बार्गेनिङ् भएको बताए । उनी भन्छन् ‘ठूला साहू महाजनलाई त चन्दा दिनुमा पनि केही स्वार्थ लुकेको हुनसक्ला तर हामी मर्कामा छौं ।’
पोखरामा नाम, दाम कमाएका एक चर्चित व्यापारीले भने विप्लव टोलीलाई चन्दा र कुनैपनि सहयोग नगरेको बताएका छन् । यद्यपि, सहयोग रकमको माग गरिएको चिट्ठी आएको भने उनले स्वीकार गरे ।
‘चिट्ठी आएको छ, र कुराकानी पनि भएको छ तर मैले दिइहालेको भने छैन’ उनले भने ‘अरु सबै राजनीतिक दलले चन्दा उठाउँदा उनीहरुलाई पनि धेरथोर सहयोग त गर्नु नै पर्ला ।’
चन्दा उठाएको विषयमा प्रतिक्रिया लिँदा कास्की सेक्रेटरीले चन्दा उठाउने पार्टीको नीति नभएको भन्दै सहयोगकालागि अनुरोध गरेको प्रष्ट्याए ।
‘हामीले असोज १ गतेदेखि काठमाण्डौंमा पार्टीको महाधिवेशन गर्दैछौं, त्यसैकालागि धेरथोर सहयोग मागेको सत्य हो’ सेक्रेटरीले भने ‘कसैलाई पनि जबर्जस्ती गरेका छैनौं तर थोरै भएपनि सहयोगको अपेक्षा गरेका छौं ।
पार्टीलाई प्राप्त हुने कुनैपनि सहयोगको दुरुस्त हिसाब किताब राखेको उनले दाबी गरे । ‘आउनुहोस्, हामी तपाइलाई आर्थिक वा अन्य सहयोगको पुरै विवरण देखाउँछौं’ सेक्रेटरीले भनेका छन् ‘हाम्रो पार्टी पारदर्शितामा विश्वास गर्छ ।’
सोहीक्रममा उनले पैसामात्रै माग्दै नहिँडेको उल्लेख गर्दै जनस्तरबाट नैतिक, भौतिक सहयोग र सल्लाह–सुझावकोसमेत अपेक्षा गरेको जनाए ।
‘सबैलाई एउटै घानमा हाल्नु भएन’ भन्दै कास्की सेक्रेटरीले नेकपा माओवादी कम्युनिष्टमात्र नभएर देशभक्त पार्टी पनि भएको उल्लेख गरे ।
पोखरा: ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् । ...
पोखरा: होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्...
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२...