कलामय बन्यो कुश्माको शताब्दी घर

पर्वत | पुस ७, २०८२

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी:   कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो ।


उनीहरुले अनुभव र सिकाइ साटासाट गरे । कलाका आयामबारे विमर्श गरे । कुश्मा कला परियोजनाले राखेको ‘एक दिवसीय कला कार्यशाला’ मा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका हुन् । 


तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे । परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकला विधाको जगेर्नाका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । “कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो”, उहाँले भन्नुभयो । 


धवलागिरि क्षेत्र आफैँमा कलाको उर्बर क्षेत्र भएकाले यस क्षेत्रको कला गतिविधिलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । 


कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने उहाँको भनाइ छ । परियोजनाले शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा परियोजना क्रियाशील छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गर्न मद्दत पु¥याएको बताउनुभयो । 


“कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बन्यो, कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।” 


कुश्माको कार्यशालामा प्रतिष्ठानले सहकार्य गरेको सदस्य सचिव थुम्केलीले बताउनुभयो । उहाँले धवलागिरि क्षेत्रलाई समेटेर आगामी दिनमा ललिताकलासम्बन्धी कार्यशाला र प्रदर्शनीको आयोजना गर्ने योजना रहेको सुनाउनुभयो । 


प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताउनुभयो । “कला कार्यशाला धेरैजसो पोखरामा हुने गरेको थियो, यसपालि पर्वतमा आयोजना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रका कलाकार, चित्रकलाप्रति रुची भएका विद्यार्थीहरुको उत्साहजन सहभागिता रह्यो, यसले कलाप्रतिको सम्मान झल्काएको छ ।”


व्यावसायिक रुपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने प्राज्ञ सदस्य कँडेलले बताउनुभयो । नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले आगामी माघ १५ गतेदेखि गैँडाकोटमा हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारहरुको सहभागिता रहने बताउनुभयो । 


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने उक्त प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ । 


बागलुङका कलाकार मछिन्द्र शाक्यले कार्यशाला पुरानो र नयाँ पुस्ताका कलाकारलाई जोड्ने सेतु बनेको धारणा राख्नुभयो । “धवलागिरि क्षेत्रका कलाकार एकैठाउँमा जमघट हुने अवसर मिल्यो, स्थलगत रुपमा क्यानभासमा आकृति कोर्दाको अनुभूति बेग्लै भयो”, उहाँले भन्नुभयो ।


शाक्यसहितका केही कलाकारले शताब्दी घर र त्यहाँ सङ्ग्रहित परम्परागत सामग्रीलाई क्यानभासमा उतारेका थिए । कतिपयले प्रकृति, संस्कृति पर्यावरण, जनजीवन आदि झल्काउने चित्र कोरे ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्