सीएनआई रोजगार मेलामा २ सय कम्पनी सहभागी हुने

काठमाडाैं | साउन २५, २०७९

सीएनआई रोजगार मेलामा २ सय कम्पनी सहभागी हुने

काठमाडौं: राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका २०० कम्पनीहरूको सहभागितामा काठमाडौंमा ‘सीएनआई रोजगार तथा शीप मेला–२०२२’ आयोजना हुने भएको छ । बजारमा शीपको उपलब्धता, रोजगारदाता र शीपयुक्त बेरोजगारबीचको खाडल कम गराई कम्पनीसँग सीधा सम्पर्क गराउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो ।

 

नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म यो मेला आयोजना गर्ने भएको हो । रोजगारदाताले शीपयुक्त जनशक्ति पाउन नसकेको, तर शीप सिकेका युवा बेरोजगार हुनुपरेको अवस्था न्यूनीकरणमा मेलाले सघाउ पुग्ने बताइएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यस्तो जानकारी दिएको हो ।

 

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्म कम्पनीहरूले कर्मचारी माग गरे पनि रोजगारदाता र काम खोज्नेबीच चुस्तरूपमा सम्पर्क स्थापित हुन सकेको छैन । यो अवस्था न्यूनीकरण गर्नु मेलाको उद्देश्य रहेको परिसंघले बताएको छ ।

 

कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले रोजगारी खोजिरहेकाहरू र रोजगारदाताबीच समन्वय गरिने बताए । यसका लागि परिसंघले मेलामा सहभागी हुने कम्पनीसँग सीधा सम्पर्क स्थापित गरेर रोजगारी खोज्न सहज गराउने उद्देश्यले ‘एप’ पनि सार्वजनिक गर्ने जानकारी उनले दिए । 

 

‘रोजगारी दिन मेला आयोजना गरिएको होइन,’ अधिकारीले भने, ‘रोजगार र शीपबीच रहेको अहिलेको खाडललाई न्यूनीकरण गर्न सेतु बन्ने मेलाको ध्येय हो ।’ परिसंघको यो पहिलो प्रयास रहेको भन्दै उनले रोजगारको आपूर्तिका लागि शिक्षाको रणनीतिमा पनि ध्यान दिनुपर्ने बेला आएको बताए । 

 

परिसंघकै उपाध्यक्ष राजेश अग्रवालले शिक्षा, रोजगार, शीपको विषयलाई राष्ट्रिय बहसको रूपमा विकास गर्न पनि मेला आवश्यक रहेको बताए । पहिलोपटक परिसंघले काठमाडौंमा यस्तो मेला आयोजना गरेको भए पनि आगामी दिनमा प्रदेशस्तरमा पनि गरिने उनले जानकारी दिए । मेलामा आएका कम्पनीहरूसँग सम्पर्कका लागि एप बनाउने र रोजगारको आवश्यकता पर्नेहरूले दर्ता गरेर सोही एपबाटै रोजगारीका लागि आवेदन दिन सक्ने उनले बताए ।

 

रोजगारदाताको आवश्यकता, शीपयुक्त कर्मचारीको मागको परिपूर्तिका विषयमा बृहत् छलफल समेत हुने जानकारी दिइएको छ । मेला संयोजक द्विराज शर्माले स्वदेशका साथै भारतको टाटादेखि अन्य देशका कम्पनीहरूलाई सहभागिताका लागि आह्वान गरिने बताए । 

 

खासगरी सूचनाप्रविधि, हस्पिटालिटी र कृषिक्षेत्रमा अध्ययन गरेर रोजगारको अवस्था र मागका विषयमा पनि परिसंघले मेलापूर्व नै अध्ययन गर्ने भएको छ । मेलाबाट नेपालमा विश्वस्तरीय जनशक्ति सृजना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान लगायत उपलब्धि हासिल हुने परिसंघको अपेक्षा छ ।

एजेन्सी

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्