नारायणघाट-बुटवल सडक: एक वर्ष म्याद थप्ने तयारी
नवलपरासी | साउन ६, २०८२

नवलपरासी: चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ ।
सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिनुभयो ।
“निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।”
आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको उहाँले जानकारी दिनुभयो ।
नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले निर्माण कम्पनीले दाउन्ने खण्डमा काम गरिरहेको छ । दाउन्नेमा सडकका कारण यात्रीलाई समस्या परेकाले त्यहाँ ढलान गर्न जनशक्ति केन्द्रित भएका छन् ।
दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, दुई लेन सडक भएको ठाउँमा चार लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि अहिले दुई सय ७२ जना श्रमिक काम गरिरहेका छन् ।
यस खण्डमा पर्ने साना पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालनमा रहेको भए पनि ठूला पुल बन्ने क्रम जारी रहेको सूचना अधिकारी खनालको भनाइ छ । डण्डाको सुक्खा खोलामा ठूलो पुल निर्माण भएर पनि एप्रोच रोड (पहुँच मार्ग) बनाउन बाँकी रहेका कारण सो पुल सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।
“अहिले चोरमाराको पुलमा काम भइरहेको छ, बेल्डिहा खोलाको पुल दुईतीन दिनमा सञ्चालनमा आउँछ, त्यस्तै जयश्री खोलाको पुलमा ढलानको काम चाँडै गर्दैछौँ, अहिले पूर्वी खण्डको काम धमाधम अगाडि बढिरहेको छ ।”
गैँडाकोटको पुलचोकमा एक सय मिटर सडक कालोपत्र गर्न बाँकी रहे पनि अबको एक महिनाभित्र कालोपत्र गरिने उल्लेख गर्दै खनालले यस खण्डमा पुल भएको ठाउँमा, चोरमारामा र दुम्कीबासबाट दाउन्नेसम्म करिब सात किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो ।
नारायणघाट– बुटवल सडकको एक सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर छ । पूर्वी खण्डमा पर्ने सडकमध्ये डेढ किलोमिटर जति क्षेत्रफल पुलले ओगटेको छ बाँकी रहेको करिब सात किलोमिटर सडक पनि चाँडै कालोपत्र हुन्छ । अहिले दाउन्नेबाहेकको खण्डमा यात्रा सहज भएको उहाँले बताउनुभो ।
एक वर्षमा यस खण्डको भौतिक प्रगति करिब २० किलोमिटर थपिएको उहाँले बताउनुभयो । “दोस्रापटक थप गरिएको म्याद सकिँदा यस खण्डमा कालोपत्र सडक २९ किलोमिटरमात्र थियो”, उहाँले भन्नुभयो, “असार मसान्तसम्म अहिले पूर्वी खण्डमा ५६ किलोमिटर सडक कालोपत्र भएको छ ।” चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम गरिरहेको छ ।
निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरी ४२ महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै सडक विस्तारको म्याद थप गर्दै आएको छ । अब थप हुने म्याद अन्तिम भएको सडक विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताउनुभयो ।
दुई खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ एवं पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । एसियाली विकास बैंक ९एडिबी०को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ ।
काठमाडौं: प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभ...
नवलपरासी: चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढक...
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित...