‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौंडा | फागुन २९, २०८१

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौंडा:   मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो । 


त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उहाँलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उहाँ गाउँ फर्किनुभयो । 


यही क्षण उहाँका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उहाँ सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल हुनुभएको छ । 

    
न्यौपानेले हाल मासिक करिब रु एक लाखसम्म कमाई हुने गरेको सुनाउनुभयो । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उहाँ जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उहाँ अचेल निकै हर्षित हुनुहुन्छ । 


“दुई छोराछोरीको पठनपाठनदेखि पवरिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उहाँले रासससँग भन्नुभयो । 

    
हाल उहाँले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीनुभएको थियो, आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । 


उहाँले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाउनुभएको छ । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताउनुभयो । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्नुहुन्छ । 


“मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु ।  त्यही  मूत्र तरकारीमा प्रयोग गर्छु”, उहाँले भन्नुभयो,“यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।”

    
माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गर्नुभएका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहनुभएको बताउनुभयो । 


उहाँ भन्नुहुन्छ, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि  ।” 


उहाँले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताउनुभयो । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाउनुभयो । 
  
    
चारवटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती गरिरहनुभएका उहाँले अन्तरबालीका रूपमा बन्दा पनि लगाउनुहुन्छ । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताउनुभयो । 

    
यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहनुभएको छ । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ । 


यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उहाँको बुझाइ छ । 


यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उहाँको आग्रह छ । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्