‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेती रमाउँदै  प्रतीक

दाङ | माघ २९, २०८१

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेती रमाउँदै  प्रतीक

दाङ:    घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गर्नुभएको छ । 


लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बस्नुभएका उहाँले विगत दुई बर्षदेखि आफ्नै पुख्र्यौली थलोमा व्यावसायिक कागतीखेती गर्नुभएको हो । 


उहाँले तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गत वर्ष पर्वतबाट ल्याएर रोप्नुभएको थियो । गत वर्ष रोपेका केही बिरुवामा यो वर्षदेखि फल लाग्न सुरु गरेको भन्दै प्रतीक भन्नुहुन्छ, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ ।” 


बोट सानो भए पनि यो वर्ष लागेका फल परीक्षणका रूपमा रहन दिएको भन्दै उहाँले आगामी वर्षदेखि बिरुवाले व्यावसायिक रूपमा उत्पादन दिनेमा विश्वस्त रहनुभएको छ । 


सुन कागती व्यावसायिक खेतीका लागि राम्रो मानिएकाले आफूले पर्वतबाट ल्याएको बताउनुहुन्छ  । तेरौटेमा रहेको करिब चार बिघा जग्गा भाडामा लिएर एक हजार पाँच सय ५० बिरुवा रोपेको लोहनी बताउनुहुन्छ । 


कागतीखेतीका लागि आवश्यक प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आउनुभएका लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिनुभएको छ । 


धेरै बिरुवा भएकाले एक्लै हेरचाह गर्न नसकिने र फार्ममा काम भइरहने भएकाले स्थानीय दुई जनालाई रोजगारी दिएको बताउनुहुन्छ । कागतीलाई बढाउँदै लग्ने सोचमा रहनुभएका उहाँले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताउनुभयो ।


सुक्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिका माध्यमबाट प्रत्येक बोटमा पानी पुर्याउने व्यवस्था गर्नुभएको छ । विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यावसायिक खेतीमा लाग्नुभएका लोहनी तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्नेगरी लागेको बताउनुहुन्छ । 


त्यही सोचअनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायत व्यावसायिक तरकारीखेती भइरहको उहाँ बताउनुहुन्छ । गाउँलाई ग्रिन भिलेजका रूपमा विकास गर्नका लागि पेसाले सिभिल इन्जिनियर भए पनि गाउँमै बसेर कागतीखेती गर्न थालेको बताउनुहुन्छ । 


अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा काम गर्नुभएका लोहनीले भन्नुभयो, “अरुको मात्र कति काम गर्ने आफ्नो पनि केही काम गरौँ भन्ने सोचले कागतीखेतीमा जोडिएको छु”, अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन बिक्रीका लागि समस्या नहुने भएकाले कागतीखेतीमा लागेको उहाँ बताउनुहुन्छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्