पर्वतमा पहिरोले चार परिवार विस्थापित, बस्ती जोखिममा
पर्वत | साउन १३, २०७९
केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ ।
पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेका छन् ।
त्यस्तै आसपासका ६४ परिवार रहेको बस्ती पहिरोको प्रत्यक्ष जोखिममा छ । पहिरोको कारण गाउँमा वितरित विद्युत्का पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन । दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शङ्कर सुवेदीले बताउनुभयो ।
विद्युतको तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उहाँले बताउनुभयो । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदीले धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताउनुभयो । “अघिल्ला वर्षमै धाँजा फाटेको थियो”, वडाध्यक्ष रामचन्द्र सुवेदीले भन्नुभयो, “अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे यो बस्तीका ६०-६५ परिवार विस्थापित हुनुपर्नेछ ।” नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।
पहिरोले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।
अनुगमनपश्चात् प्राविधिक टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभियन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख गोशलीले बस्तीमा जोखिम भएको विद्युत्का पोल फेर्न सुरु भइसकेको जानकारी दिनुभयो । “पहिरो खसेको स्थानमा तीन पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ”, उहाँले भन्नुभयो, “बाँकी दुई हटाउनुपर्ने छ ।”
गत वर्षजस्तो ठूलो वर्षा नभए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

