विपिन जोशीको सकुशल मुक्ति प्रयास: कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध
काठमाडाैं | पुस २६, २०८१
काठमाडौं: सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ ।
सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनःआग्रह गरेको हो ।
हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गर्नुभएको हो ।
नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गर्नुभएको हो ।
आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहनुभएका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिनुुभएको थियो ।
यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गर्नुभएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ ।
यो पनि पढ्नुहोस
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

