किसानद्वारा ११ करोडको धान बिक्री
दाङ | पुस १८, २०८१

बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।
गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।
“धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भने, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”
धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए ।
“पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।
मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए ।
“गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।”
पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए ।
उनका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो । चौ...
नेपाल प्रहरीले प्राविधिक समस्याको कारण आफ्नो अनलाइन प्रणाली अवरुद्ध भएको जनाएको छ। प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जना...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सरेको छ । यही महिना हुनुपर्ने महाधिवेशन १० महिना पछि फागुनमा पुगेको हो । बिहीबार बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठ...