बेनीमा माटोको गुणस्तरमा ह्रास

म्याग्दी | पुस ५, २०८१

बेनीमा माटोको गुणस्तरमा ह्रास

म्याग्दी:    बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तरमा ह्रास आएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमूना परीक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । 


कृषि शाखाले बेनी नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा निःशुल्क शिविर सञ्चालन गरेर एक सय ९४ वटा माटोको नमूना परीक्षण गरेको थियो । 


परीक्षणका क्रममा एक सय २१ वटा माटोको नमूनामा अम्लियपना र ७३ वटामा तटस्थ पाइएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । 


“माटोको अवस्था पहिचान गर्न प्राविधिक टोली खेतबारीमा पुगेर कीटका माध्यमबाट परीक्षणका साथै किसानलाई परामर्श दिएका छौँ”, उहाँले भन्नुभयो, “अम्लियपना बढी देखिनुलाई माटोको गुणस्तर घट्दो क्रममा रहेको बुझेका छौँ ।”


रासायनिक मल र विषादीको अत्यधिक तथा जैविक मलको कम प्रयोग गर्ने तथा बाढीले मलिलो माटो बगाएर लैजाँदा अम्लियपना बढी देखिएको कृषि अधिकृत ढुङ्गानाले बताउनुभयो । 


माटोको गुणस्तर बढाउन कम्पोष्ट मल र प्राविधिकको सिफारिसअनुसार कृषि चुन प्रयोग गर्न सुझाव दिएको उहाँले बताउनुभयो । परीक्षण गरिएकामध्ये ८७ वटा नमूनामा नाइट्रोजन, ७१ वटामा फस्फोरस र ४४ वटामा पोटासको मात्रा कम देखिएको छ । 


नाइट्रोजन कम भएको जमिनमा कोशेबाली लगाउन सुझाव दिइएको छ । बयालीस वटामा नाइट्रोजन, १ सय २ वटामा फस्फोरस र १ सय ३१ वटामा पोटासको मात्रा मध्यम देखिएको छ । 


पैसठ्ठी वटामा नाइट्रोजन, २१ वटामा फस्फोरस र १९ वटामा पोटासको मात्रा अधिक देखिएको कृषि शाखाले जनाएको छ । वडा नम्बर ४ मा ३३, वडा नम्बर ५ मा ७९ र वडा नम्बर ६ मा ८२ वटा माटोको नमूना परीक्षण गरिएको थियो ।

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।  शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानी...

थप पढ्नुहोस्

दाङ:    दाङमा आज भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।  घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै...

थप पढ्नुहोस्

काठमाडौं:    एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्...

थप पढ्नुहोस्