सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि, तयारी पूरा
कैलाली | मंसिर २१, २०८१
कैलाली: ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनीस्थल निर्माणलगायतका विभिन्न कार्यहरू सम्पन्न भइसकेका छन् ।
यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष कुँवरको भनाइ छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ ।
महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने र रु १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै , यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् ।
समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत १८ औँ संस्करणको रूपमा यो महोत्सव आयोजना गर्न लागिएकोे सङ्घका महासचिव ओम विष्टले बताउनुभयो । सधैँका संस्करणमा झै यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक कार्यका लागि छुट्टाइएको उहाँको भनाइ छ ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, र अन्यलाई रु एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ ।
महोत्सवको मुख्य प्रायोजक कृषि विकास बैंक, संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार र प्रवर्द्धकका रूपमा कैलाली जिल्लाका सम्पूर्ण स्थानीय तह रहेका छन् ।
महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २९ उपसमिति रहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

