अहिलेकै ‘सर्भर’बाट गण्डकीमा ‘इम्बोस्ड’ जोड्न ३२ वर्ष लाग्छ: प्रमुख रिज्याल
कास्की | साउन ४, २०७९

कास्की: यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले विभागबाट प्राप्त सर्भर, उपकरण र कार्यालयमा रहेका जनशक्ति उही भएको खण्डमा गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्ने बताएका छन् ।
रिज्यालले सुनगाभा न्यूजसँग बोल्दै सिमित स्रोत साधन तथा जनशक्तिका कारण सरकारले ह्वीप जारी गरे अनुरुप सवारी साधनमा इम्बोस्ड जडान गर्न नसकिने स्पष्ट पारे ।
उनले आफ्नो कार्यालयलाई उपलब्ध भएको बायोम्याट्रिक सर्भर, उपकरण र जनशक्तिको क्षमता अनुसार दैनिक ४० सवारी साधनमा मात्रै इम्बोस्ड जडान गर्न सकिने बताए । ‘विभागले जडान गरिदिएको सर्भरले एक दिनमा ४० वटा भन्दा बढि गर्नै सकिदैन । साउन १ गतेबाट सबै सवारीमा अनिवार्य जडान गर्नेबारे धम्कीपूर्ण सुचना आएको थियो, कार्यालय प्रमुख रिज्यालले भने, ‘भीडैभीड र सर्भरले ४० वटा भन्दा थाम्दैन । त्यही जनशक्ति र त्यही सर्भर हो भने गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्दोरहेछ ।’
उनले यही वर्षभित्र जडान सम्पन्न गर्नको लागि दैनिक १ हजार ३ सयको सँख्यामा नम्बर प्लेट जडान गरिनुपर्ने बताए । ‘यदि यो वर्षभित्र सक्ने हो भने दिनमा १३ सय जडान गर्नुपर्छ । त्यसैगरि २ वर्षमा जडान सक्ने हो भने दैनिक ६ सय ५० जडान गर्नुपर्छ । जबकी हाम्रो क्षमता दैनिक ५० पनि छैन । भनेपछि त्यस्तो उर्दी फिजारेर नागरिकलाई त्रसित बनाउने स्थिति सिर्जना गर्न हुन्छ ?’ उनले प्रश्न गरे ।
रिज्यालले ताकेता लगाएरै जडान गर्न दबाद दिनु आवश्यकता नरहेको धारणा राखे । ‘हामीले पनि त्यस्तो ताकेता लगाएर जडान गर्न भनेका छैनौं । त्यो सम्भव नै छैन । हामीले जनशक्ति, सर्भर र जडान गर्ने ठाउँको व्यवस्थापन नगरेसम्म कडाई गर्दैनौं । तपाइहरु ढुक्क हुनुहोस् ।’
तत्कालै इम्बोस्ड नम्बर जडान नगरे कारवाही नहुने बताउदै रिज्यालले भने, ‘इम्बोस्ड नम्बर जडान नगरे तपाइहरुलाई कारवाही हुदैन । कारवाही गर्ने मैले हो । विभागले होइन । यातायात व्यवस्था ऐन अनुसार सवारी कारवाही गर्न अधिकार कार्यालय प्रमुखको हुन्छ । त्यसैले इम्बोस्ड नम्बरको विषयमा विचलित हुनुपर्दैन ।’
३ महिनामा ८ सय ‘इम्बोस्ड नम्बर’ जडान
गत फागुन २२ गतेदेखि जडान सुरु गरिएको बताउदै तीनमहिना बित्दा करिब ८ सयको सँख्यामा इम्बोस्ड नम्बर जडान गरिएको यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । ‘अहिलेसम्म हाम्रो कार्यालयबाट दुई र चार पाङ्ग्रे गरि लगभग ८ सय जति जडान भएको छ । मंसिर १ गतेबाट लागूहुनेगरि राजपत्रमा इम्बोस्ड नम्बर अनिवार्य गर्न भनेर आको थियो, उनले भने, ‘मन्त्रालयले हामीलाई पत्र लेख्ने बित्तिकै हामीले फागुन २२ गतेबाटै नम्बर जडान गर्न सुरु गरेका थियौ । अहिलेपनि नयाँ सवारीमा जडान त जारी नै छ ।’
कति लाग्छ शुल्क ?
सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा वर्गिकरण गरेको छ । जसअनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, चारपाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...