घट्दै डेङ्गु सङ्क्रमण

काठमाडाैं | कात्तिक २५, २०८१

घट्दै डेङ्गु सङ्क्रमण सांकेतिक तस्बिर

काठमाडौँः   घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ ।


स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताउनुभयो । 


उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।”


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । 


मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।


दाहालले विगतका वर्षको भन्दा अहिले सङ्क्रमण दर घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता खालका अभियानले पनि घट्न मद्दत गरेको छ । डेङ्गु विश्वव्यापी खतराको रुपमा देखिएको छ । अरु देशको अनुभव हेर्नु भयो भने सङ्क्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ ।


हामीले अझै धेरै गर्नुपर्नेछ तर पनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमणलाई घटाएका छौँ ।”ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा ७ हजार २ सय ८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।


त्यसैगरी काठमाडौँमा ४ हजार ८ सय ३, तनहुँमा २ हजार ३ सय ७३ , पर्वतमा १ हजार ७ सय ४९, ललितपुरमा १ हजार २ सय ४१, बाग्लुङमा १ हजार २ सय, चितवनमा १ हजार १ सय ७५, भक्तपुरमा १ हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।


डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेङ्गुले महामारीको रूप लिन सक्ने समय मानिन्छ । 


नोभेम्बर ५ को तथ्याङ्क तुलना गर्ने हो भने समष्टिगत रुपमा ४ दिनमा देशभर १ हजार २ सय ४९  मा डेङ्गु सङ्क्रमण देखिन्छ । जुन अघिल्लो हप्ताको तथ्याङ्क हेर्दा कम हो ।


प्रमुख डा दाहालले भननुभयो  भन्नुभयो, “४ हप्तामा डेङ्गु सङ्क्रमण २ हजार ५ सयबाट तल आएको छ । यसको ट्रेन्ड एक महिनायता बिस्तारै घट्दो क्रममा छ ।” विसं २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो ।


डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने १ प्रकारको कीटजन्य रोग हो । 


लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ ।  
 

काठमाडौं:   साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।   जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरास...

थप पढ्नुहोस्

दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।   इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको...

थप पढ्नुहोस्

भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् ।   तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि...

थप पढ्नुहोस्