कालीगण्डकी किनारामा २४ वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी
बाग्लुङ | कात्तिक २२, २०८१

गलकोट: कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत उक्त मेला प्रसिद्ध थियो ।
हजारौँले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो तर शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता मेला हुनसकेको छैन ।
पछिल्लो सयम भने यहाँका स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ ।
उक्त समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट सुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिनुभयो ।
उहाँले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताउनुभयो ।
“विसं २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन ।
एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुन नसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्ने हाम्रो योजना छ ।
त्यसका लागि बुधबारबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न सुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रूपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ ।
बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो हुनेछ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो ।
विसं २०५७ सालअघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयाससमेत भएपछि रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको जानकारहरू बताउँछन् ।
रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गरिएका छन् ।
आरती वाचक तथा गायक रमेश खड्काले पुर्खौँदेखि लाग्दै आएको मेला नेपालकै ठूलो मेलामध्येको एक रहे पनि पछिल्लो समय हराउँदै गएकामा सबै जनाको सल्लाहबमोजिम पुनः सुरु गर्न लागिएको सुनाउनुभयो ।
मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीपसमेत प्रज्वलन गरिने छ ।
यही २६ गते तोरणलाई बागलुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गरिने योजना छ ।
मेला, धार्मिक पूजा, तोरण तान्नेलगायतका क्रियाकलाप सञ्चालन गर्न यस वर्षबाट सुरुआत गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
आफ्नो धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई २४ वर्षपछि निरन्तरता दिन थालिएको उहाँले बताउनुभयो ।
मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दिप संकलन, गङ्गा पूजन र सरसफाइलगायत कार्यक्रमका लागि उपसमितिसमेत गठन गरिएका छन् ।
पोखरा: कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् । देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...
काठमाडौँ: नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार शु...