गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ: मन्त्री पाठक

पाेखरा | कात्तिक ३, २०८१

गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ: मन्त्री पाठक

पोखरा:    गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् ।


अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।


प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको दोस्रो वार्षिकोत्सव समारोहका प्रमुख अतिथि मन्त्री पाठकले लमजुङ जिल्ला अस्पताल प्रदेशको महत्वपूर्ण अस्पताल बताए । उनले यो पायक पर्ने अस्पताल भएकाले सेवाग्राहीको संख्या उल्लेख्य रहेको जनाए ।


लमजुङ अस्पतालको स्तरोन्नतिका काम अब अघि बढिहाल्ने पनि उनले जानकारी दिए । ‘आधुनिक भवन निर्माण हुँदैछ । अब टेण्डर प्रक्रियामा जान्छ । विशेषज्ञसहितका सिटी स्क्यान लगायत अत्यावश्यक उपकरण सेवा अस्पतालमा जोडिनेछन् ।’ – पाठकले भने ।


स्वास्थ्य सेवाका लागि भवन, उपकरण र जनशक्ति आवश्यक पर्नेमा प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा सबैको तारतम्य मिल्न नसक्दा कहिँ केही नमिलेको जस्तो अवस्था आएको भन्दै मन्त्री पाठकले यस समस्यालाई समाधान गर्ने गरी प्रदेश सरकार अघि बढेको बताए । 


‘९८ प्रकारका औषधि निःशुल्क भनिएपनि औषधि पाइएको छैन, स्वास्थ्य बीमामा समस्या छ । साना साना कुराले नागरिकले सास्ती पाएका छन् । संघ सरकारसँग समन्वय गरेर यसलाई समाधान गर्न लागिपरेको छु ।’ उनले भने ।


स्वास्थ्यकर्मीको समस्याबारे आफू जानकार रहेको भन्दै उनले स्तरवृद्धि तथा आवश्यक तालिमहरू गर्न आफूले ल्याउने बजेटमा व्यवस्था गर्ने पनि बताए ।


७१ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको उल्लेख गर्दै मन्त्री पाठकले समुदायतहसम्म पुगेर रोगहरुको स्क्रिनिङ गरी औषधोपचार गर्नुपर्छ भनेर स्थानीय तह, वडा तहसम्म मिलेर काम गर्न तत्पर भएको सुनाए ।


डेंगुको प्रकोप बढिरहेको हुँदा जनचेतना बढाउनुपर्नेमा उनको जोड छ । अहिलेसम्म गण्डकीमा १४ हजार ८ सय ५८ संक्रमित भएकोमा ७ जनाको मृत्यु भइसकेको तथ्यांक प्रस्तुत पनि गरे ।


कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले गरेका थिए ।


लमजुङ अस्पताल २०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालको रूपमा स्थापना भएकोमा सरकारले सञ्चालन गर्न नसकेपछि २०५८ मा समुदायलाई हस्तान्तरण गरिएको थियो । मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले सरकारसंग सम्झौता गरी २०५८ साउन ५ देखि सञ्चालन गर्दै आएको थियो ।

सरकारले सञ्चालन गर्न नसकेपछि गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको जिल्ला अस्पताल लमजुङ २१ वर्षपछि दुई वर्ष अघि सरकारलाई नै हस्तान्तरण गरिएको हो  ।

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गर...

थप पढ्नुहोस्

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ...

थप पढ्नुहोस्