धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो
काठमाडाैं | असोज ३०, २०८१

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ ।
सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो ।
एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन् ।
घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एकवटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।
प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।
आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए ।
सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।
यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौंसँग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ । पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप ...
पोखरा: प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी हब स्थाप...
म्याग्दी: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत ...