पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

बाग्लुङ | असोज २९, २०८१

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

बलेवा:    यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । 


जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबजा र नौमती बजाएर सबैलाई चकित पार्ने गरेका हुन् ।


कक्षा ४ मा अध्ययनरत विवेक परियारले ढोलकी बजाउँदा शिक्षक, अभिभावक अचम्मित हुन्छन् । उनीहरुले नौमती बजाउँदा मेला महोत्सव र सार्वजनिक कार्यक्रमको रौनक थपिने गरेको छ । 


बाजा बजाउन सिक्न थालेको उनीहरुले एक वर्ष भयो । विद्यालयले पाठ्यक्रमका अतिरिक्त रैथाने सीप सिकाइरहेको छ । त्यसअघि एक दुई जनाले घरमा अभिभावकसँग पनि सिकेका थिए । 


विद्यालयले समूहमा राखेर सिकाएपछि सबैजना बाजा बजाउन जान्ने भएका हुन् । सिकाइकै लागि उनीहरु मेला महोत्सव, धार्मिक र साँस्कृतिक कार्यक्रममा बाजा बजाउँछन् । पारिश्रमिक लिएर भने उनीहरुले हालसम्म बाजा बजाएका छैनन् । 


गत वर्षदेखि विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रधानाध्यापक तिलक आचार्यले बताउनुभयो । विद्यालयकै शिक्षक थमबहादुर परियारलाई सबै बाजाको ज्ञान भएकाले उहाँले इच्छुक विद्यार्थीलाई प्रशिक्षण दिइरहनुभएको छ । 


सुरुमा गाउँमा बाजा बजाउन सिकाएपछि हौसिएका बालबालिकालाई विद्यालयले रु तीन लाख खर्चेर नौमती बाजाको ‘सेट’ नै ल्याइदिएपछि अहिले नियमित सिकिरहेका छन् ।


नौमती सिक्नेमा परियारबाहेक अन्य जातका पनि छन् । सबै मिलेर नौमती बजाउन जान्ने भएपछि बालबालिकालाई हरेक शुक्रबारको अतिरिक्त क्रियाकलापमा बाजा बजाउने प्रतियोगितासमेत गराउन थालिएको प्रधानाध्यापक तिलक आचार्यले जानकारी दिनुभयो ।


विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ । 


“यहाँ धेरैले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो । अभिभावक र विदेशमा बस्ने युवाबाट सहयोग जुटाएर कम्तीमा दुई जोर बाजा पु(याउने लक्ष्य छ”, प्रअ आचार्यले भन्नुभयो ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्