धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति सुरु
म्याग्दी | असोज ७, २०८१
म्याग्दी: धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।
डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्शाङ्कन) भएको छ ।
धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।
चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।
कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताउनुभयो । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ ।
यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।
म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिनुभयो ।
हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप रु छ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताउनुभयो । प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

