राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि वर्तमान गठबन्धन: उपप्रधानमन्त्री सिंह
कैलाली | असोज १, २०८१
कैलाली: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउनुपरेको धारणा राख्नुभयो ।
“पटकपटक सरकार परिवर्तन हुँदा विकास निर्माण, शान्ति सुरक्षादेखि आर्थिक गतिविधिमा समेत समस्या देखियो, जसले जनतामा निराशा थप्न भूमिका खेल्यो । त्यसैकारण हामीले सात बुँदे समझदारीसहित वर्तमान सरकार बनेका हौँ । सोहीअनुसार सरकारले काम गरिरहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
उहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारीलगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढाएको धारणा राख्नुभयो ।
सङ्घीयताको मर्म र जनचाहनाअनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गतिदिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
सहकारी बचत रकम दुरुपयोगका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सहरी विकासमन्त्री सिंहले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले काम अगाडि बढाउने स्पष्ट पार्नुभयो ।
“हिजो मात्रै समितिले प्रतिवेदन बुझाएको छ । सरकारले गर्नुपर्ने कामका विषयमा सिफारिस र सुझाव आएका छन्, त्यसको अध्ययन गरेर थप कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ । आमबचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

