अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का सर्वोत्कृष्ट
काठमाडाैं | असोज १, २०८१

काठमाडौं: अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।
गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो ।
नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् ।
प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर (रु १६ लाख नौ हजार) जितेका छन् । उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर (रु १२ लाख ६ हजार) जितेको थियो ।
यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर (रु १० लाख ७२ हजार) र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर (रु आठ लाख चार हजार) पुरस्कार प्राप्त गरेको छ ।
खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् ।
पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताउनुभयो ।
उहाँले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताउनुभयो ।
पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको सराहना गर्नुभयो ।
खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर (रु छ लाख ७० हजार) र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर (रु चार लाख दुई हजार) प्राप्त गरेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् । ...
म्याग्दी — अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुुर्जाले जित...
पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्र...