‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’
बाग्लुङ | भदौ २०, २०८१
बागलुङ (गलकोट): बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गर्नुभएको हो ।
उहाँले भन्नुभयो,“गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ । अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन् ।”
विसं २०७० मा तत्कालीन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवद्र्धन तालिमको आयोजना गरेको थियो । त्यही तालिम नै उहाँको जीवनमा कोसेढुङ्गा सावित भयो ।
गाउँगाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा सहभागी भएकाको गुनासो गरेका थिए । तालिममा सहभागी भएका ६९ जनालाई कृषि कार्यालय बागलुङका तत्कालीन प्रमुख विनोद हमालले एक÷एक प्याकेट अकबरे खुर्सानीको बीउ दिनुभयो ।
कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहयोग गरिदिने प्रतिबद्धतासहित कृषिले खुर्सानीको बीउ बाँडेर फर्किएपछि लालकुमारीको दैनिकी फेरिएको छ । “गाउँकाले खुर्सानीको बिरुवाले पेट भरिँदैन, करेलो र घिरौँलो लगाउँ भने, मैले मानिन्, अकबरे खुर्सानीको भविष्य देखेको थिएँ, पछिल्लो समय अकबरे खुर्सानीको फाइदा देखियो”, उहाँले भन्नुभयो, “अहिले अकबरे खुर्सानीको माग उच्च देखेर पाँच रोपनी जग्गामा खुर्सानीखेती गरेको छु ।”
त्यही एक प्याकेट खुर्सानीको बीउबाट लालकुमारीले यतिबेला फैलाउँदै र बढाउँदै पाँच रोपनी जग्गामा व्यावसायिक खुर्सानीखेती गर्नुभएको छ । अन्य पाँच रोपनीमा झिलिङ्गो ९सिल्टुङ्ग०, सिमी, काँक्रो, करेला, भेन्टा र सागसँगै तरकारीखेती पनि गर्नुभएको छ । विसं २०७२ बाट व्यावसायिक खेती सुरु गरेकी लालकुमारी अहिले बर्सेनी २० क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुन थालेको बताउनुभयो ।
विसं २०७५ मा रोपेका खुर्सानीका बोटले अहिले पनि उत्पादन दिने गरेको उहाँले बताउनुभयो । पहिले पहिले लालकुमारीको खुर्सानी बागलुङ बजारमा बिक्री हुन्थ्यो, विस्तारै जिल्ला बाहिर पनि जान थाल्यो । केही वर्षयता कोसेलीका रुपमा आफन्त, इष्टमित्रलाई जापान, कोरिया, पोर्चुगल र अमेरिका पठाउने बढ्न थाले । विसं २०७९ देखि भने लालकुमारीले व्यावसायिक रुपमै आफूले उत्पादन गरेको खुर्सानी दुबई पठाउन थाल्नुभएको छ ।
पहिले पहिले खुर्सानी फलाएर पाकेर रातो भएपछि बिक्री गर्ने गरेको भए पनि आजभोलि हरियो हुँदै बिक्री हुने गरेको उहाँको भनाइ छ । प्रतिकेजी तीन सय रुपैयाँ र प्रतिमाना एक सय रुपैयाँका दरले गाउँबाटै बिक्री हुने गरेको उहाँको भनाइ छ । खुर्सानीमात्र बेचेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गरेको लालकुमारीले बताउनुभयो ।
खुर्सानीबाहेक अन्य तरकारी बिक्री गरेको आम्दानी छुट्टै छ । कादेश कृषि तथा पशुपालन सहकारी संस्थाको अध्यक्षसमेत रहेकी लालकुमारीले सहकारीमा आबद्ध भएकालाई खुर्सानी उत्पादनमा जोडेर बिक्रीवितरणमा सहजीकरण गर्ने तयारी गरेको बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारका कृषिसम्बन्धी कार्यक्रम र कार्यालयबाट आफूलाई धेरै सहयोग प्राप्त हुने गरेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

