‘ल्याण्डफिल्ड साइट’ सरेन भने विमानस्थलमा नाँच्छन् गिद्ध र चरा

सिँचाई व्यवस्थापन र रिठेपानी डाँडा कटान अनिवार्य

काठमाडाैं | बैशाख १०, २०७९

‘ल्याण्डफिल्ड साइट’ सरेन भने विमानस्थलमा नाँच्छन् गिद्ध र चरा


पाेखराः निर्माण कार्य अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते गरेका थिए । साथै सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत सहभागी थिए ।  

 

शिलान्यासको १६ महिनापछि मात्रै काम सुरु भएको विमानस्थलको निर्माणकार्य हालसम्म ९४ प्रतिशत सकिएको छ ।  राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन विमानस्थलको चिनियाँ कम्पनी सिएएमसीले २०७१ वैशाख २९ मा ठेक्का पाएसँगै निर्माण अघि बढेको हो । 

 

सम्पन्न हुन ६ प्रतिशत बाँकी रहँदै चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरिसकिएको छ । 
चाबी हस्तान्तरण भएपनि तत्कालै विमानस्थल सञ्चालनमा आउन भने कठिन छ । नागरिक उड्डयन प्राधिकारणले विमानस्थलको मुख्य काम सकिएको बताउँदै सञ्चालन गर्न अझै चुनौती रहेको बताएका छन् । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न र अन्य काम सुरु गर्न बाँकी नै छ । 

 

भौतिक संरचनाको कार्य सकिएपनि उडानसँग प्रत्यक्ष सरोकार राख्ने रिठेपानी डाँडा कटान, ल्याण्डफिल्ड साइट (फोहोर व्यवस्थापन) र ढल तथा सिँचाई व्यवस्थापनको विषय मुख्य चुनौती रहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले रहेको बताए । उल्लेखित विषय विमानस्थल सञ्चालनको पूर्वसर्त रहेको अधिकारी बताउँछन् । ‘आजसम्म विमानस्तलको मूख्य कामहरु सकिएको छ ।  तर रिठेपानी डाँडा कटानका लागि स्वीकृति लिने चरणमा छौं’ उनले भने ‘डाँडा कटान गरेपछि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गर्न सक्नेछौ ।’ 

 

महानिर्देशक अधिकारीले डाँडा कटानसँगै ल्याण्डफिल्ड साइटको व्यवस्थापन अपरिहार्य रहेको बताए । उनका अनुसार प्राधिकरणको क्षेत्र र दायरमा उक्त कामहरु पर्दैनन् । साथै, उल्लेखित काम सम्पन्न भएन भने विमानस्थल सञ्चालनमा आउँदैन । ‘ल्याण्डफिल्ड साइट नसारिएसम्म पोखरा विमानस्थल सञ्चालन हुन सक्दैन । अबको चार महिनासम्म ल्याण्डफिल्ड साइट सरेन भने निर्धारित अवधिभित्र विमानस्थल सञ्चालन हुँदैन’ उनले स्पष्ट पारे । 

 

ल्याण्डफिल्ड साइट किन सार्ने ?

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि महानगरले व्यवस्थापन गर्दै आएको ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्नुपर्ने देखिएको छ । 

 

विज्ञहरुका अनुसार विमानस्थल सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १४ बाट ल्याण्डफिल्ड साइट अन्यत्र लानुपर्छ । यदि सो ठाउँबाट ल्याण्डफिल्ड साइट सारिएन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सक्दैन । किनभने धावनमार्ग र ल्याण्डफिल्ड साइट नजिकै छ । एउटै क्षेत्रमा विमानस्थल र ल्याण्डफिल्ड साइड रहेकाले रनवे र विमानस्थल क्षेत्रमा गिद्ध र चराहरुको बर्चस्व हुन्छ । प्राधिकरणका अनुसार ठूला आकारका चराचुरुङ्गीले उडानमा अवरोध गर्ने मात्र हैन दुर्घटनाको जोखिमसमेत बढाउँछन् । 

 

यसर्थ केही महिनाभित्रै ल्याण्डफिल्ड साइट सारिएन भने विमानस्थल सञ्चालन आउन असम्भव छ । महानिर्देशक अधिकारी भन्छन् ‘ल्याण्डफिल्ड साइट हटाउने काम विमानस्थल सञ्चालनको पूर्व शर्त हो ।’ 

 

ल्याण्डफिल्ड साइट सार्ला महानगर ?

विमानस्थल सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने ल्याण्डफिल्ड साइट स्थानान्तरणको लागि महानगर लागिपरेको सरसफाई शाखाका प्रमुख कल्पना बरालले बताईन् । आगामी असारसम्म ल्याण्डफिल्ड साइट सार्न महानगरपालिका कसरत गरिरहेको बताउदै यसको छिनोफानो गर्न छलफलमा जुटिरहेको बराल बताउँछिन् । 

 

‘हामी उहिल्यैदेखि अध्ययनमा लागिरहेको र जग्गा खोजिरहेको हो । एउटा जग्गाको बारेमा कार्यपालिकाको बैठक बसेर जग्गा अधिग्रहण गर्नेबारे निर्णय भएको छ, उनले भनिन्, ‘तीन महिनाभित्र त्यहाँबाट अन्यत्र लैजाने महानगरले तयारी गरेको छ ।’

 

महानगरपालिकका प्रवक्ता एवम् वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले भने ल्याण्डफिल्ड व्यवस्थापन गर्न वैकल्पिक रुपमा वडा नम्बर ३३ को केही स्थानलाई चयन गरिएको बताए । सम्भावनामा वडा नम्बर ३३ को केही ठाउँहरु रहेको उनले जनाएका छन् । ‘कुमालटार र चिउरकोट भन्ने दुई स्थानलाई विकल्पकारुपमा राखेका छौं’ नेपालीले भने ‘प्राविधिकहरुले निरीक्षण गरेपछिँ मानवबस्ती भन्दा बाहिर घर र खानेपानीको मुहान नभएको स्थानमा सार्न सकिन्छ ।’

 

प्रवक्ता नेपालीले केही दिनमै प्राविधिक टोली स्थलगत अवलोकनका लागि जाने तयारीमा रहेको उल्लेख गर्दै फिल्ड भिजिटपछि बैठकले पारित गर्ने योजना रहेको बताउँछन् । ‘त्यसपछि प्लेन चलिहाल्छ’ नेपालीले ठोकुवा गरे । 
इआइए स्वीकृत भएपछि काटिन्छ ‘रिठेपानी डाँडा’

 

विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल्ड साइट र ढल तथा सिँचाई व्यवस्थापनसँगै रिठेपानी डाँडा कटान पनि चुनौतीको विषय बनेको छ ।  पोखरा महानगरपालिका २६ मा पर्ने रिठेपानी डाँडा कटानमा अहिले व्यक्तिको जग्गा मात्रै काटिरहेको वडा अध्यक्ष नारायणप्रसाद बरालले बताए । 

 

‘अहिले कटान भइरहेको व्यक्तिको जग्गा हो । अब बाँकी रहेको सार्वजनिक जग्गा हो’ अध्यक्ष बरालले भने, ‘वातावरण प्रभाव मुल्याङ्कनको काम अब टुङ्गिन लाग्यो होला । जग्गा कटानको सिफारिसपछि महानगरले स्वीकृति दिन्छ । तर अहिलेसम्म स्वीकृत गरेको छैन ।’

 

यता आयोजना प्रमुख विनेश मुनकर्मीले संघीय सरकारबाट इआइए स्वीकृत भएपश्चात मात्र डाँडा कटान सुरु हुने बताए । ‘अहिले इआइए स्वीकृत भएको छैन । त्यो स्वीकृत भएपछि काट्ने काम सुरु हुन्छ, उनले भने, ‘एक साइड काटिएको छ अब अर्काे साइड बाँकी छ ।’ 

 

सिँचाई व्यवस्थापन गर्न ४० करोडको प्रतिवेदन पेश

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सिँचाई व्यवस्थापनका लागि करिब ४० करोडको अनुमानित प्रतिवेदन पेश गरेको बताए । उक्त प्रतिवेदन जलस्रोत मन्त्रालय, पर्यटन मन्त्रालयसागै प्रधानमन्त्री कार्यालयसम्म पेश गरिएको छ । उनले सिँचाई तथा नहर व्यवस्थापनको काम मन्त्रालयले नै रोकेको जानकारी दिए ।  

 

‘भौतिक मन्त्रालयले सिँचाई व्यवस्थापनको लागि सबै प्रतिवेदन तयार पार्न जिम्मा मलाई दिएको थियो । मैले सबै तयार पारेर दिएको अवस्था हो’ उनले भने, ‘सबै व्यवस्थापन गर्दा करिब ४० करोड रुपैयाँ लाग्छ भन्ने हिसाबले पेश गर्‍यौ  ।’ प्रतिवेदन पर्यटन मन्त्रालय, उर्जा मन्त्रालय हुदै प्रधानमन्त्री कार्यालयसम्म पुगेको उनले दाबी गरे । तर बजेट नपाउँदा काम नभएको आचार्यको भनाई छ । 

 

यद्यपि, यस विषयमा सम्बन्धित निकायले चासो नदिएको उनको बुझाई छ । ‘अदालतले यो नेपाल सरकारकै काम हो भनेर आदेश दिएको छ । हामीले यसरी बनाउँनुपर्छ भनेर सम्बन्धित निकायमा प्रतिवेदन पुर्‍याइसक्याै, गर्नुपर्ने पर्यटन मन्त्रालयले हो’ आचार्य भन्छन् ‘एयरपोर्ट निर्माण कम्पनी र  अरुलाई चाँसो नै छैन ।’ 

 

बाँकी रहेका काम सरकारले चाहेमात्रै हुने स्पष्ट पार्दै उनले भने ‘चाहेन भने सानोतिनो आयोजना राष्ट्रिय गौरवको आयोजनाले खाईदिन्छ ।’

 

लागत कति ?

चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा चिनियाँ निर्माण कम्पनी सिएएमसीले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।

 

नागरिक उड्डयन प्राधिकरणका अनुसार सरकारले वि.सं. २०३२ सालमा ३ हजार १ सय रोपनी र निर्माणाधीन अवस्थामा बाँकी गरी हालसम्म कूल ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरिएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा मात्र ४ अर्ब ५० करोड रुपैयाँ खर्च हुनेछ ।

 

बन्दैछ ‘फोर–डी’ मोडलको विमानस्थल 

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेसनको मापदण्ड अनुसार ‘फोर–डी’ विमानस्थल बन्न लागेको हो । 

 

यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको निर्माण भएको आयोजना प्रमुख ईन्जिनियर विनेश मुनकर्मीले बताए ।
उनका अनुसार टर्मिनल भवन, ट्याक्सी–वे, एप्रोन, पार्किङ, भौतिक संरचनाहरु, १४ मध्ये ६ वटामा सजावट, इक्विपमेन्ट जडान, प्यासेन्जर बोर्डिङ ब्रिज जडान भइसकेको छ भने अर्काे आउने क्रममा रहेको छ । 

 

प्रमुख मुनकर्मीले अब ६ प्रतिशत मात्रै काम बाँकी रहेको बताउदै भने, ‘अब डेकोरेसन, फिनिसिङ, ब्युटिफिकेसनको काम बाँकी छ । एउटा बोर्डिङ ब्रिज जडान भइसकेको छ भने अर्काे यही हप्ता आईपुग्छ ।’

 

नागरिक उड्डयन प्राधिकरणका अनुसार १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौता गरिएपनि कोभिड–१९ को महामारीका कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुरा गर्ने नयाँ मिति यसै वर्षको असार मसान्तसम्म तोकिएको छ । 

 

विमानस्थल सञ्चालनपछि भारतको दिल्ली, हङकङ, चीनको बेइजिङ र सार्क राष्ट्रहरुमा पोखराको सिधा सम्पर्क हुनेछ । 
 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्