मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग
चितवन | साउन २०, २०८१

चितवन: मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ ।
नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको बताउनुभयो । उहाँका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ ।
सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ । पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरु गरेको बाघ हुनसक्ने चिकित्सक श्रेष्ठले जानकारी दिनुभयो । “बाघ कहाँबाट आयो यकीन हुन सकेको छैन । यद्यपि नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशङ्का गरिएको छ”, उहाँले भन्नुभयो ।
आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५ः२० बजे बिहान भरतपुर–१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट घाइते हुनुभएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्रेष्ठको पाँच वटा कृत्रिम दाँत फुत्केर घाँटीमा गएर अड्किएको थियो । बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन् । यस्तै दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ ।
श्रेष्ठको स्वास्थ्यावस्था खतरामुक्त रहेको डा लम्सालले जानकारी दिनुभयो । श्रेष्ठको अहिले शल्यक्रिया गर्ने तयारी गरिएको बताउँदै घाँटीमा पुगेका दाँत खोक्दा बाहिर निस्किएका उहाँले जानकारी दिनुभयो ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...
पोखरा: बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...
पोखरा: आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...