पत्रकारमाथि सांघातिक हमलापछि फरार ४ जनाको खोजीकार्य
पाेखरा | साउन १६, २०८१

पोखरा: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको आन्दोलनमा रिर्पोटिङको क्रममा पत्रकारमाथि भएको सांघातिक हमलापछि फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने पत्रकार टोलीले माग राखेको छ ।
आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको छलफलको क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, जिल्ला समिति र फोनिज गण्डकीको टोलीले कास्की प्रहरीलाई आक्रमणपछि फरार मुख्य ४ जनालाई यथाशिघ्र पक्राउ गर्नुपर्ने बताएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुसँग कुनै पनि किसिमको सम्झौता नगरी प्रशासनले कारवाही गर्नुपर्ने बताईन् ।
पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको रंग, वर्ण र जात नहुने बताउदै फरार सबैलाई पक्राउ गर्नुपर्ने बताए ।
'कानूनको नजरमा रंग, वर्ण, पेशा वा श्रमजिवी मजदुर भन्ने हुदैन, उनले भने, ‘त्यसैले सांघातिक हमला गरेर फरार रहेका बाँकी ४ जनालाई पक्राउ गरेर कानूनी कारवाहीमा ल्याउनु पर्याे । त्यसपछि बाँकी छलफल अघि बढाउला ।’
यस्तै छलफलको क्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले यतिका दिन बित्दासमेत ५ जनालाई बाहेक अन्य व्यक्तिलाई कास्की प्रहरीले पक्राउ नगर्नु पछाडी रहस्य रहको बताइन् ।
उनले कुनै व्यक्तिमाथि मात्र अक्रमण नभई पत्रकारितामाथि नै हमला भएको उल्लेख गरिन् ।
यो पनि पढ्नुहोस
‘आन्दोलनको नाममा आक्रमण भयो । पीडितको मुटु हलुंगो भएपनि सिंगो पत्रकारिता क्षेत्रको मुटु भारी भएको छ । त्यसैले हिरासतमा रहेका ५ जनालाई छुटाउने होइन फरार रहेको अन्य ४ जनालाई पनि तत्कालै पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भनिन् ।
यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र केसीले छलफलको क्रममा बोल्दै शान्तिपूर्ण आन्दोलन भनिएपनि त्यसले फरक रुप लिएको बताउदै आफुहरुलाई निकै दुखी बनाएको सुनाए ।
‘हामीले शान्तिपूर्ण र सन्देशमूलक आन्दोलन नै गर्ने भनेका हौं । हामी सरकारसँगको नियमित वार्तामा थियौं’, सचिव केसीले भने, ‘आन्दोलनमा कसैलाई कुट्ने धम्काउने भन्ने केही थिएन । गाडी घर र ग्यारेजमा थन्काउने मात्रै कार्यक्रम थियो तर एकाएक पत्रकारमाथि हातपात भएछ । हामी त्यो घटनाप्रति एकदमै लज्जित र दुखी छौं ।’
यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले कानूनको विषयमा सम्झौता नहुने स्पष्ट पारे ।
उनले २० जनाभन्दा बढि व्यक्ति विरुद्ध निवदेन परेपनि मुख्य ४ व्यक्ति पहिचान भइसकेको बताउदै यथाशिघ्र पक्राउ गर्ने बताए ।
‘भीड धेरै भएकाले अहिलेसम्म ५ जना हिरासतमै छन् बाँकी मुख्य र प्रत्यक्ष कुटपिटमा संलग्न ४ जनालाई हामीले पहिचान गरिसकेका छौं, एसपी थापाले भने, ‘उनीहरुलाई पनि छिटै पक्राउ गरेर कानूनी प्रक्रिया अघि बढाउछौं ।’
गत आइतबार रिपोर्टङको क्रममा पत्रकार बिनु थापा मगर र सुरज थापामगरलाई पठाओ भन्दै यातायात व्यवसायीले लखनचोक (पृथ्वीचोक) मा सांघातिक आक्रमण गरेका थिए ।
उक्त घटनामा संलग्न ५ जनालाई पक्राउ गरिसकेको छ भने बाँकी ४ जना फरार छन् ।
गण्डकी प्रदेश सरकारले राइडसेयरिङलाई वैधानिकता दिनका लागि कार्यविधि अघि सारेपछि यातायात व्यवसायीहरु सांगठनिक रुपमै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...