लेखनाथमा निर्माणाधिन सरुवा रोग अस्पतालको काम सुस्त
पाेखरा | जेठ ९, २०८१
(शिलान्यासपछिको तस्बिर)
लेखनाथ: पोखरा महानगरपालिका ३० मोहोरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन ।
ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माण कार्य ‘यम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ ।
वि.सं.२०७८ असारमा २८ मा ३ वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माण कार्यले गति लिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकेको जनाए ।
गत आर्थिक वर्षसम्म भवन निर्माणमा १२ करोड ३८ लाख खर्च भइसकेको छ । चालु आवमा थप ५ करोड विनियोजन गरिएको थियो, जसमध्ये हालसम्म ४ करोड बराबरको काम पनि नभएको निमित्त प्रमुख तिवारीले जानकारी दिए ।
‘अब जति तीव्र गतिमा काम गरे पनि आगामी असारभित्र १ करोडको काम हुने अवस्था छैन । निर्माण कम्पनीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा काममा ढिलासुस्ती भइरहेको हो’, उनी भन्छन् । कम्पनीले ३० करोड २० लाखको लागतमा ४ तलाका ३ वटा ‘ब्लक’ निर्माणको ठेक्का पाएको छ ।
सरकारले प्रदेशकै पहिलो संक्रामक तथा सरुवा रोग अस्पताल भएकाले भवन निर्माणमा बजेट अभाव हुन नदिने बताउँदै आएको छ । निर्माण कम्पनीका प्राविधिक वीरेन्द्र जिसीले भने आगामी असारभित्र विनियोजित बजेट अनुसार काम हुने बताए ।
उनले यसरी नै बजेट विनियोजन गर्दा भवनले पूर्णता पाउन अझै ३ वर्षजति लाग्ने भन्दै बजेट र भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे ।
सुरुको वर्ष जग्गा व्यवस्थापन, पर्खाल र जग निर्माणले समय बढी लिएको उनको दाबी छ ।
“आगामी वर्षदेखि बजेट बढाएमा आफूहरू समयमै काम गर्न तयार छौँ । अहिले पनि ढलानलगायतका काम भइरहेका छन् ।” २० वर्षअघि सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल चार वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।
प्रदेश सरकारले सोही अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास गरिरहेको छ ।
१५ शय्याबाट सुरु गरिएको उक्त अस्पतालको क्षमता हाल ५० शय्याको छ । अस्पतालले बहिरङ्ग र अन्तरङ्ग सेवा दिँदै आएको छ ।
एक सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल हाल पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

