७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडाैं | बैशाख ८, २०७९

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, वैशाख ८ गते । निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

 

७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र ६७६ निर्वाचन अधिकृतहरूका लागि सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।  

 

आयोगको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता पौडेलले निर्वाचन आयोगले आजैदेखि सबै जिल्लामा निर्वाचन सामग्री पठाउन सुरु गरेको जानकारी दिनुभयो । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचनमा अवश्यक पर्ने सामग्री पठाइएको छ । अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्री पठाइने उहाँले जानकारी दिनुभयो । 

 

स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन स्वतन्त्र ढङ्गले पर्यवेक्षण गराउन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ बमोजिमको मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति दिने निर्णय पनि गरेको आयोगले जनाएको छ । 

 

सो संस्थाबाट तोकिएको योग्यता पुगेका १० हजारभन्दा बढी स्वतन्त्र पर्यवेक्षकहरूले मुलुकभरीका तोकिएको मतदानस्थलमा पुगी पर्यवेक्षण गर्नेछन् । आफ्नो मतदाता नामावली रहेको सम्बन्धित स्थानीय तहमा भने पर्यवेक्षकहरूले पर्यवेक्षण गर्न पाउने छैनन् । पर्यवेक्षकलाई आयोगले पर्यवेक्षण गर्ने मतदान स्थलसमेत खुलाई छुट्टाछुट्टै परिचयपत्र उपलब्ध गराउने छ । पर्यवेक्षकहरूले निर्वाचन प्रक्रियाको पर्यवेक्षण गरी तोकिएको ढाँचामा आयोगसमक्ष प्रतिवेदनसमेत बुझाउनुपर्ने छ ।

 

निर्वाचन आचारसंहिता, २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्रिवितरण तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि सामग्री उत्पादन नगर्न नगराउन आयोगले विज्ञप्तिमार्फत अनुरोध गरिसकेको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

 

सोहीअनुसार वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख थान मतपत्र छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको आयोगको भनाई छ । डोल्पा र मुगु जिल्लामा हवाई मार्गबाट निर्वाचन सामग्री पठाइने र बाँकी सबै जिल्लामा स्थलमार्गबाट सामग्री पठाइने आयोगले जनाएको छ ।  

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्

काठमाडौंः   जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पा...

थप पढ्नुहोस्

बझाङ:     बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । ...

थप पढ्नुहोस्