क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी

काठमाडाैं | फागुन ८, २०८०

क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी

काठमाडौं:    क्यानडा–११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ ।


मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतक प्रहार गरे ।


तल्लोक्रममा राशीद खानसँग महत्त्वपूर्ण साझेदारी गरेका उनले विजयी रन प्रहार गरेका थिए । बसिरले ७३ बलमा ५२ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे ।


नेपालको जितसँगै ३ खेलको सिरिज १÷१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा क्यानडा–११ ले ४ विकेटको जित दर्ता गरेको थियो । अन्तिम तथा निर्णायक खेल विहीबार मुलपानी मैदानमै हुनेछ ।


नेपालले इनिङको पहिलो बलमा मयन यादवलाई गुमाएको थियो । नेपालमा पहिलो खेल खेलिरहेका अमर खालिदले उनलाई एलबीडब्लू धरापमा पारेका थिए । तेस्रो ओभरमा शेर मल्ल पनि आउट भए । उनी ११ बलमा १ चौकासहित ७ रन जोड्दै खालिदकै बलमा कट बिहाइन्ड भए । त्यसबेला नेपाल १३–२ को स्थितिमा थियो ।


त्यसपछि कप्तान सन्दीप जोरा र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए । अर्जुन २५ औं ओभरको पाँचौ बलमा क्याच आउट भएपछि साझेदारी तोडियो । उनले ६४ बलमा ३ चौकासहित ४० रन जोडे ।


अर्जुन आउट भएको २ बलपछि नै सन्दीप पनि पेभेलियन फर्किए । साद बिन जफरको बलमा अम्पायर कट बिहाइन्ड आउट दिएपछि उनी असन्तुष्ट व्यक्त गर्दै बाहिरिएका थिए । ७४ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गरे । उनि आउट हुँदा नेपाल ११७–४ को स्थितिमा पुग्यो ।


किरण ठगुन्ना १७ बलमा १३ रन जोड्दै हर्ष ठाकरको बलमा बोल्ड भए । त्यसपछि छैटौं विकेटका लागि राशीद खान र बसिर अहमदले ७७ रनको साझेदारी निर्माण गरे ।


राशीद ४६ औं ओभरमा आउट हुँदै लगातार दोस्रो खेलमा अर्धशतक बनाउनबाट चुके । साहिद अहमदजाईको बलमा क्याच आउट हुनुअघि उनले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए । यसअघि पहिलो खेलमा उनले ४० रन बनाएका थिए ।


अर्को ओभरमा चोट बोकेका विवेक यादव १ रनमै आउट भए । त्यसको २ बलपछि साहब आलम पनि गोल्डेन डक आउट हुँदा नेपाल संकटमा परेको थियो ।


त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो ।


श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।


मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २÷२ तथा सागर ढकाल र बसिर अहमंदले १÷१ विकेट लिए ।


पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए ।


विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए ।


हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४(४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके ।


कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए ।


नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरे ।

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

थप पढ्नुहोस्

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

थप पढ्नुहोस्

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

थप पढ्नुहोस्