बागलुङमा ‘प्रेस चौतारी कप’ फुटबल प्रतियोगिता हुने
बाग्लुङ | माघ १५, २०८०

बागलुङ: प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना पन्तले पत्रकारका साथै विद्यालय र विद्यार्थीहरुलाई खेल र खेल पत्रकारितासँग जोड्नको लागि प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्गम स्थल विद्यालय हो, विद्यालय केन्द्रित प्रतियोगिता नियमित आयोजना हुनुपर्छ,’ अध्यक्ष पन्तले भन्नुभयो,‘चौतारीले यो प्रतियोगिता यहि हेतुका साथ गर्न लागेको हो, पत्रकारका साथै विद्यालय र विद्यार्थीलाई समेत खेल र खेल पत्रकारितासँग जोड्नुपर्छ ।’
अध्यक्ष पन्तले केन्द्रीय मूलधारको मिडियामा बिट पत्रकारिता हुने र मोफसलमा सबै बिधामा उत्तिकै पोख्त हुनुपर्ने बाध्यता रहेको बताउँदै जिल्ला स्तरमा हुने दुर्लभ प्रतियोगिता र त्यसको रिर्पोटिङमा देखिने यथेष्ट अभ्यास, ज्ञान र अनुभवको कमीलाई पुरा गर्न ठोस पहलकदमी कसैले नउठाएका कारण चौतारीले अग्रसरता देखाएको बताउनुभयो । उहाँले यस प्रतियोगितालाई सामाजिक, सांगठनिक उत्तरदायित्व नै ठानेको बताउनुभयो ।
प्रतियोगिताले फुटबल प्रतियोगिता सहित समग्र खेल रिपोर्टिङमा समेत टेवा पुग्ने अपेक्षा लिएको अध्यक्ष पन्तको भनाई छ । उहाँले प्रतियोगितामा जित हारको सूचना समाचार मात्र नभई जिल्लाको खेलकुद पत्रकारितालाई खेल र नतिजालाई रिपोर्टिङ भन्दा फराकिलो दायरामा लैजानु अपरिहार्य रहेको बताउँदै खेल पूर्वाधार, खेलाडी प्रोफाइल, खेल सम्भावना, खेल एकता र जिलला भित्रको फुटबलको समग्र विकास जस्ता विषय पनि समेट्ने प्रेरक परिवेश तयार गर्नका लागि प्रतियोगिता सिद्ध हुने बताउनुभयो ।
प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने सचिव अर्जुन कार्कीले बताउनुभयो । उहाँले प्रतियोगितामा ४ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि जिल्ला फुटबल संघ बागलुङ र जिल्ला खेलकुद विकास समिति बागलुङको प्राविधिक सहयोगका साथै विभिन्न संघ, संस्था, बैंक तथा स्थानीय तहहरुले सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
प्रतियोगितामा १५ भन्दा बढी विद्यालयहरुको टिमले सहभागिता जनाउने अपेक्षा गरिएको उपाध्यक्ष तथा टिम व्यवस्थापनका संयोजक खेमराज गौतमले सुवासले जानकारी दिनुभयो । टिम दर्ताको लागि माघ १७ गतेसम्मका समय रहेको र दर्ता शुल्क पाँच हजार रुपैयाँ रहेको उहाँको भनाई छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु नकआउटका आधारमा खेलाइनेछ ।
प्रतियोगिता सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर खेलमैदानमा हुनेछन् । माघ २२ गते २६ औं स्थापना दिवसको मुल समारोहमा प्रतियोगिताको फाइनल खेलका साथै प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्यले जानकारी दिनुभयो ।
डोटी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । ...
काठमाडौं: काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताउनुभएको छ । फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित &lsq...