कृषि मुलुकको आर्थिक मेरुदण्ड: मन्त्री जिसी

पाेखरा | पुस २०, २०८०

कृषि मुलुकको आर्थिक मेरुदण्ड: मन्त्री जिसी

पोखरा:   गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीले कृषि मुलुकको आर्थिक मेरुदण्ड भएको बताउनुभएको छ । 


कृषि विकास निर्देशनालय गण्डकी, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा पोखरामा आजदेखि सुरु भएको प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री जिसीले मुलुकको आर्थिक मेरुदण्ड भएको बताएका हुन् । 


“हाम्रो देशको सन्दर्भमा भन्ने हो भने कृषि नै हाम्रो लाइफलाइन हो, कृषि नै हाम्रो देशको आर्थिक मेरुदण्ड हो, उहाँले भन्नुभयो, सिङ्गो मुलुकको जिडिपीमा २६ प्रतिशत कृषिको योगदान छ, त्यसका कारण हाम्रो जीवन वृत्तिको प्रमुख माध्यम कृषि नै हो ।” नेपालमा कृषि पेसालाई परम्परागत र निर्वाहमुखीबाट बिस्तारै आधुनिकीकरण र यान्त्रीकरण तर्फ लैजानु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 


पोखरा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक बोधराज कार्कीले महानगर क्षेत्रका कृषकहरूलाई यान्त्रीकरणमा अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । कृषि उपजको बजारीकरण सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले वडावडाहरुमा कृषि उपज सङ्कलन केन्द्रहरूमा समेत स्थापना गरिएको बताउनुभयो । कृषिको आधुनिकीकरण र यान्त्रीकरणका विषयमा विद्यालय तहदेखि नै अध्ययन अध्यापन गराउनु आवश्यक रहेको पोखरा १४ का वडाध्यक्ष समेत रहनुभएका संयोजक कार्कीले बताउनुभयो ।


महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिका पछिल्ला केही वर्षदेखि कृषि यान्त्रीकरणको अभियानमा रहेको बताउनुभयो । “हामी कृषिको आधुनिकीकरण र यान्त्रीकरणको अभियानमा छौँ, प्रमुख कडरियाले भन्नुभयो, यसका बाबजुद पनि हामीसँग केही चुनौतीहरू छन्, टुक्रे र भिरालो जमिनका कारण यान्त्रिक उपकरणहरूको उपयोग त्यति सहज छैन, तैपनि यसप्रति कृषकहरूलाई आकर्षण गर्दै अनुदान र लागत साझेदारीमा कृषि यान्त्रीकरणको काम भने निरन्तर भइरहेको छ ।” पोखरा महानगरपालिका भित्रको कृषियोग्य जमिनलाई बाँझो नराख्ने र कृषकहरूको उत्पादनलाई बजार सुनिश्चितताका सकारात्मक अभ्यासहरू महानगरपालिकाको तर्फबाट गरिएको प्रमुख कडरियाले बताउनुभयो । 


परम्परागत र निर्वाहमुखी कृषि प्रणालीको विकल्प आधुनिकीकरण सहितको कृषि यान्त्रीकरण नै हुने व्यवसायीहरूले बताएका छन् । कृषकहरूको उत्पादन लागत कम गर्दै उत्पादनमा उल्लेख्य वृद्धि गर्न यान्त्रीकरण आवश्यक रहेको उनीहरूले बताए । उत्पादन देखी प्रशोधनसम्मका कृषि उपकरणहरू बजारमा उपलब्ध रहेका व्यवसायीहरूको भनाइ छ । 


प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलरहरु, सरकारी एवं गैरसरकारी सङ्घ संस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू, सेवा प्रदायक कृषक समूह, सहकारी सङ्घ संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ । १० बढी मुलुकबाट कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री भइरहेको प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुनेछ । 


प्रदर्शनीले नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले राखेको छ । सो क्रममा कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल अन्तरक्रिया हुनेछन् ।


प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ बिजन, आधुनिक सिँचाइ लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ ।

पोखरा:    नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा ...

थप पढ्नुहोस्

पोखरा:     पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ ।  नेपाल लोकतान्त्रीक खेल...

थप पढ्नुहोस्