पहिलेको बगर अहिलेको खेलमैदान
म्याग्दी | पुस २०, २०८०
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो ।
मंगला(५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । ‘चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो’, उनले भने, ‘पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।’
उनका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।
खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए ।
उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ । बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए ।
बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए ।
गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए ।
‘झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरुप लिएको छ’, उनले भने । गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो ।
गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ ।व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो ।
गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए ।
कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

