पोखरामा आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

हिमाल जोगाउन एकमत

पाेखरा | मंसिर २२, २०८०

पोखरामा आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

पोखरा:  आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ ।

 

नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । 

 

उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए ।  

 

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको दाबी गरे । 

 

‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’, उनले भने । 

 

नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएको जानकारी दिए । तर, नेपालले आफ्नो लक्ष्य पूरा गरेपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो ।

 

ठुला मुलुकले कार्बन उत्सर्जन नरोकेसम्म नेपाल प्रभावित भइरहने उनले बताए ।  ‘हामीले जुन क्षति व्यहोरेका छौं । त्यो क्षतिका लागि तपाईहरु जिम्मेवार हुनुहोस्’, अन्तर्राष्ट्रिय समुदायसमक्ष उनको अनुरोध छ । 
जलवायु परिवर्तनकै कारण नेपालले बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेकोमा उनको चिन्ता छ ।

 

बेमौसमी बाढी पहिरोले विकासको लागत बढाइरहेको उनले सुनाए । त्यसको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने महतको जिकिर छ ।  

 

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले विकसित राष्ट्रले गरेको कार्बन उत्र्सजनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको दोहो¥याए । 

 

‘हाम्रा हिमालमा जति हिउँ पर्नुपर्ने हो, जति समयसम्म रहनुपर्ने हो त्यो नभएर उजाड बन्दै गइरहेको छ । बाढी पहिरोले हिमालभन्दा मुनि बस्ने जनताको जीवनमा धेरै प्रभाव पारेको छ’, मन्त्री थापाले चिन्ता जनाए ।  हिमालमा देखिएको असरले पर्यटकको संख्यामासमेत कमी आएको उनको भनाइ छ । 

 

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरुले जलवायु परिवर्तनको असर ठुयाक्कै कुन हिमालमा परिरहेको छ यकिन गर्नुपर्ने आवश्यकता औल्याए । जलवायु परिवर्तनको विषयमा सेचत गराउन युएईको कोप–२८ सम्मेलनमा सहभागी हुन जानु पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालापत्थरमा लगेको उनको भनाइ छ । 

 

‘झण्डोत्तलन गर्नुको अर्थ के थियो भने हामीले हल्ला मात्रै गरेको होइन जलवायु परिवर्तनको असरमा हिमालमा परेको छ । हिमाल कहाँ छ ? नेपालमा,  कुन ठाउँमा भन्दा यो ठाउँमा भनेर विश्वको ध्यान आकर्षित गराउन खोजेका हौं’, उनले भने । व्यवस्थापनमा चूनौति थपिएकाले हिमालमा भइरहेको फोहोरमा पनि कम गर्न उनको जोड थियो । 

 

पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् । 
 

उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइयो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।
किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुने न्यौपानेले बताइन् ।

 

महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ । यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको तस्वीरसमेत प्रदर्शनी छन् । 

 

महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्नेछन् । 
 

आठौं संस्करणको पर्वतीय महोत्सवमा पहिलो पटक ‘टग अफ वार’ समेटिएको छ । छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, दोहोरी गीतको रौनक महोत्सवमा छ । 
२८ स्टल रहेको महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामाग्री, दैनिक उपभोग्य बस्तु र सेवा समावेश छ ।  
 

बझाङ:     बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । ...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घ...

थप पढ्नुहोस्

बझाङ:    बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता ...

थप पढ्नुहोस्