‘मौरीस हर्जोग’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा
म्याग्दी | मंसिर १२, २०८०
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्जोग’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ ।
म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुनु थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सुरु भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा सुरु भएको पदयात्रा टोलीमा वित्त आयोगका पदाधिकारी, विज्ञ, जनप्रतिनिधि, प्राविधिक, पत्रकार र स्थानीय अगुवाहरूको सहभागिता छ ।
वित्त आयोगका उपाध्यक्ष बालानन्द पौडेल, नेपाल सरकारका पूर्वमुख्यसचिव डा सोमलाल सुवेदी, जुद्धबहादुर गुरुङलगायत २५ जनाको टोली रहेको छ । टोलीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पैदलमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलामा बिदाइ गर्नुभयो ।
“मौरीज हर्गोजले अन्नपूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर पदमार्ग बनाएका छौँ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टीलगायतको लाभ हामीले पाउन सकेका छैनौँ । यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।”
हुमखोला हुँदै गुरासेडाँडा, फुतफुते झरना, सम्धिखर्क, भुसकेत, नारच्याङ, पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविरसम्म पैदलयात्रा गरेर फर्कने कार्यक्रम रहेको छ । पैदलयात्राका क्रममा गाउँपालिकाको प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुपर्ने पूर्वाधार र नक्साङ्कनका लागि सर्वेक्षण पनि गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालिको शरदयाममा पहिलोपटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ ।
हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरूलाई अन्नपूर्ण नर्थ बेसक्याप आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।
हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि।सं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् ।
अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी सुमिना बरुवालले बताउनुभयो ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०...
काठमाडौं: परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमो...
चितवन: मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरक...