भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट १७ दिन हिँडेर बेनी आए किसानहरू
म्याग्दी | असोज २२, २०८०
म्याग्दी: कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्।
जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो।
‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ,’’उनले भने, ‘यहाँ ल्याइपुर्याउँदा एउटा च्याङ्ग्राको मूल्य ५० देखि ५५ हजार परेको छ।’
उनीहरु जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन्।
मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन्।
स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन्।
भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ। तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हुन्।
हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताए।
‘सबैले महँगो भयो भन्छन्,’ उनले भने, ‘पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ,’ उनले भने।
दसैं पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन्।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्।
मुस्ताङका कृषकका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन्।
च्याङ्ग्राको हुल भित्रिएसँगै दसै आगमनको महसुस गराउँछ। उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाल जडीबुटी खाने भएकाले दसैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ।
स्वादिलो र पोषिलो हुने भएकाले दशैमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताए।
तीन वर्षअघि प्रतिवटा रु २५ हजारमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन्।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

