पोषिलो सातुको ‘ब्राण्डिङ्’मा निरन्तर पृथ्वी

पाेखरा | असोज १६, २०८०

पोषिलो सातुको ‘ब्राण्डिङ्’मा निरन्तर पृथ्वी

पोखराः के तपाइले सातु खानुभएको/पिउनुभएको छ ? वा, सातु भनेको थाहा छ ? यस्तो प्रश्न जो कोहीलाई सोधेपनि उत्तर ‘छ’ भन्ने आउँछ ।

 

नआओस् पनि कसरी नेपालको कुनैपनि भूगोलमा बस्ने वा कुनैपनि उमेर समूहकाले सातुको उपभोग पक्कै गरेका छन् । 
 

सामान्यतयः आफ्नै परिवेशमा फलाइएको वा उपलब्ध भएको अन्नको सम्मीश्रणबाट सातु बनाइन्छ ।

 

ठ्याक्कै भन्नुपर्दा भूगोल अनुसार मकै–भटमास, गहुँ, जौ, उवालाई भुटेर जाँतोमा पिसेपछि त्यसको पिठोलाई पानीमा सर्वतजस्तो बनाएर पिउने पुरानो चलन हो । त्यस्तै, कतै लामो पैदलयात्रा गर्दा ‘सातु, सामल कस्ने’ चलनै छ । 

 

सातु केवल पेट भर्ने वा भोक टार्ने बहानामात्र होइन, यो पोषिलो र अडिलो पनि हुन्छ । अझ भनौं, सातु ‘गुनिलो’ छ । यही पोषिलो, अडिलो र गुनिलो सातुको खाजा घरमा आमाले खुवाएको सम्झनाले पोखराका २५ वर्षे ठिटोलाई बेचैन बनायो । विदेशमा व्यवस्थापन अध्ययन गरेका उनै ठिटो पृथ्वीकल्याण पराजुली अहिले होमटाउन पोखराबाट सातुलाई ब्राण्डिङ् गर्न दिनरात कस्सिएका छन् । 

 

पराजुलीसँगको सातु–संवादमा उनले सुरुमै सुनाए ‘सातुको महिमा अपरम्पार छ ।’ विद्यालयबाट घर फर्केपछि घरमा खाइने खाजा सातुले कहिलेकाही बेलुका भातै खान नपर्ने उनको अनुभव छ । त्यसमाथि विदेशमा रैथाने खानालाई दिइएको प्राथमिकता र बजारीकरणबाट उनी परिचित नै थिए ।

 

विदेशमा रैथाने खाना प्रवद्र्धन गरेको देखेर चकित भइरहेका पराजुली पोखरा फर्किएपछि जंकफुडले साम्राज्य जमाइरहेको देखेर पिरोलिए । उनको चिन्ता थियो, अब गाउँ, टोल, समाज रोगी बन्दैछ ।

 

देशमै केही गर्ने हुटहुटी बोकेका पराजुली ‘के गर्ने !’ भन्ने सोंच बनाइरहेकाबेला विश्वलाई कोरोनाले गाँज्यो । एकाएक उनीपनि घरको चारघेरामा थन्किए । कोरोना कहरसँग जुझ्न पोसिलो खानाको आवश्यकताबारे प्रचार हुन थाल्यो । रोगसँग लड्नसक्ने बलियो खाना त्यही सातु थियो । र, त्यहीबेला उनको दिमागमा बस्यो ब्राण्ड ‘पोषिलो’, उत्पादन ‘सातु ।’

 

उनको योजनाले आजभन्दा डेढ वर्षअघि जरा हाल्यो । उक्त जरामा उनको १ करोड रुपैयाँ बढी लगानी भएको छ । यही जरामार्फत उनी उद्यममा जोडिए । ‘सातुले मलाई देशभरका किसान, बजार र उपभोक्तासँग जोडेको छ’

 

पराजुली भन्छन् ‘अझ मलाई यहाँको जीवनशैली र स्वस्थ समाजसँग जोडेको छ ।’ उनका अनुसार देशका विभिन्न क्षेत्रबाट सातुका सामग्री ल्याइन्छ । ‘मैले नटेकेको देशको भूगोल सातुकै कारण टेकेको छु, आवश्यक अन्नको गूणस्तर छनौट गर्न र मूल्य निर्धारण गर्न सम्भव भएसम्म म आफै पुग्ने गरेको छु’ पराजुलीले सुनाए ।

 

बजारमा उत्पादन बेच्ने र नाफा आर्जन गर्ने व्यापारिक पाटो भएपनि उत्पादनको गुणस्तर र सुनिश्चितता उपलब्ध गराउने आफ्नो ‘प्रोफेस्नलिज्म’बारे उनी स्पष्ट पार्छन् । अघिल्लो आर्थिक वर्षको मध्यदेखि उनले बजारमा सातु पठाए । सोही आर्थिक वर्ष सातुले गण्डकीको सिमाना नाघेर पूर्वका प्रमुख सहरमा प्रवेश ग¥यो । 
 

 

यथेष्ठ बजार अध्ययन गरी तयार पारिएको मौलिक र रैथाने सातु जसै बजारमा आयो, प्रायःले मन पराए । यसअघि बजारमा उपलब्ध सातु केवल प्लाष्टिकमा पोका पारिएर बेच्ने गरिएको हुन्थो । तर पोषिलो ब्राण्डले पोषणवीद्को राय अनुसार सातुमा आवश्यक सम्पूर्ण पदार्थ समेटेको थियो । जसको समयावधि नै १ वर्ष राखिएको छ । ‘हामीसँग सातुमा प्रयोग हुने अन्नको ग्रेडिङ् हेर्ने, गुणस्तर र मात्रा हेर्ने, प्याकेजिङ र स्टोरेज हेर्ने छुट्टै टिम छ’ पराजुलीले भने

 

‘बजारमा पाइने विदेशका म्युस्ली, सिरियलजस्तै सातुले पनि स्टान्डर्ड मेन्टेन गरेको छ ।’

 

उनका अनुसार हाल बजारमा ‘मल्टीग्रेन’, प्रोटिन प्लस’ र ‘नट्टी डिलाइट’ गरी ३ प्रकार उपलब्ध छ । जसमध्ये मल्टीग्रेन जुनसुकै उमेर समूहलाई उपभोग गर्न मिल्ने बनाइएको छ भने प्रोटीन प्लस स्पोर्ट र फिटनेशमा लाग्ने समूहप्रति लक्षित छ । त्यस्तै, बालबालिकालाई नट्टी डिलाइट उपयुक्त हुन्छ ।

 

सातुको नामसँगै दाम पनि फरक छ । मल्टिग्रेनको ३ सय, प्र्रोटिनप्लसका ४ सय ८० र नट्टी डिलाइटको ४ सय ४० रुपैयाँ रहेको छ । जसको तौल ८ सय ग्राम रहेको पराजुलीले बताए । त्यस्तै २ किलोको मूल्य उल्लेखित रकमको दुगुना रहेको छ ।

 

सातु हाल नेपालका चलनचल्तीमा रहेका डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएपनि भाटभटेनीमा भने नपाइने उनले जनाए । ‘भाटभटेनीमा राख्ने प्रयास भइरहेको छ, सम्भवतः त्यहाँपनि छिट्टै उपलब्ध हुनेछ । पोखराको पूर्वमा राम्रै बजार लिएको सातु अब पश्चिममा बिस्तार गर्ने उनले बताए ।

 

अब बिहान होस् वा बेलुका सातु उपभोग गर्ने चलन बढ्दै गएको बताउँदै उनले यसलाई नेपालको पपुलर ब्राण्ड बनाइछाड्ने उल्लेख गरे । साथै, सातुको ब्राण्ड एम्बेसडरमा नेपालका नामुद फिटनेश कोच सुकदेव कार्की रहेका छन् ।

 

उनै कार्कीको प्रेरणास्वरुप स्पोर्टसका विभिन्न विधामा रहेका खेलाडीहरुको डाइटमा सातु पनि समेटिएको छ ।  ‘बिरामी होस् वा खेलाडी, बच्चा होस् वा वृद्ध, सातु सबैकालागि हो’ पराजुली भन्छन् ‘न सातुमा कुनै केमिकल हुन्छ नत यसको कुनैै साइड इफेक्ट ।’ 

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनुपर्ने सुझाव दिएको छ ।   महासंघले आयोजना महासंघले आयोजना गरेको संचा...

थप पढ्नुहोस्

पोखरा:   सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ ।  &...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्धा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रम्भा गाउँपालिका–४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाल रहेका छन् । ...

थप पढ्नुहोस्