६० किलो सुन प्रकरण: ६ जनाविरूद्ध मुद्दा नचलाउन सिआइबीको राय

काठमाडाैं | भदौ २७, २०८०

६० किलो सुन प्रकरण: ६ जनाविरूद्ध मुद्दा नचलाउन सिआइबीको राय

६० किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय दिएको छ।

 

बुधबार सिआइबीले काठमाडौं सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। जसमा ६ जनालाई मुद्दा नचलाउन सिफारिस भएको सिआइबी स्रोतले जानकारी दियो। भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिएको आरोप लागेका नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियारमाथि मुद्दा नचलाउन सिआइबीले राय दिएको हो। 

 

रूक्मिना सुब्बालाई राजश्व अनुसन्धान विभागले नै हाजिर जमानीमा छाडेको थियो। यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सिआइबीले मुद्दा नचलाउने सिफारिस गरेको हो। केही दिनमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

 

सिआइबीले यस प्रकरणमा ३२ जनालाई पक्राउ गरेको छ। जसमा १८ जना फरार प्रतिवादी कायम गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो। फरार रहेका उनीहरूविरूद्ध इन्टरपोलको ुपर्पल नोटिसु समेत जारी भएको एसपी सञ्जयसिंह थापाले जानकारी दिए। विदेशमा भएकाहरूको विरूद्ध पर्पल नोटिसु जारी भएको हो। यो नोटिस जारी भएपछि उनीहरूबारे केही जानकारी दिन प्रहरीले भनेको छ।

 

फरार रहेका १८ मध्ये १४ जना विदेशी नागरिक छन्। उनीहरूको परिचय भने खुलाएको छैन। पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्। चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्। 


उनीहरूमध्ये पाँच जना विदेशी नागरिकले झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं र काभ्रेबाट नेपाली नागरिकता र राहदानी लिएको समेत पुष्टि भएको छ। यस प्रकरणमा सात वटा कसुरको मुद्दा चल्ने सिआइबीको राय छ। 

 

प्रहरीले भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो। 

 

नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसार भने अनुसन्धान गर्न सम्बन्धित निकायलाई सिफारिस गरिने सिआइबीले जनाएको छ। साउन २ गते साँझ हङकङबाट क्याथेप्यासिफिक एयरलाइन्सबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

 

दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको थियो। ब्रेक शुभित्र सुन राखिएको भन्ने सूराक पाएपछि खटिएको राजश्वको टोलीले सुन बरामद गरेको थियो। ब्रेक शुबाट सुन निकालेर जोख्दा ६० किलो ७१६ ग्राम थियो। त्यसैगरी यही प्रालिले बरामद नगरिएका ३०२ किलो सुन पनि तस्करी गरेको सिआइबीको अनुमान छ। 

 

त्यसकै आधारमा सिआइबीले कुल ३६२।७७८ किलोग्राम सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको हो। ‘यो कम्पनीले यसरी नै ब्रेक शुमा राखेर पहिले पनि थुप्रै ल्याएको देखिन्छ। एउटा ब्रेकशुमा ठ्याक्कै एउटै मात्राको सुन अट्छ। त्यसैले हामीले ३०२ किलो सुन पहिले ल्याइसकेको अनुमान गर्न सकेका हौं,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने।  

 

यसरी नै अनुसन्धान गर्न उनीहरूले रेडी ट्रेडसहित सात वटा कम्पनी खोलेको देखिन्छ। ती कम्पनीबाट कति मात्राको सुन ल्याएको हो भन्ने अनुसन्धान जारी नै रहेको एसपी सञ्जयसिंह थापाले बताए। सुरूमा राजश्वले अनुसन्धान गरे पनि पछि अन्तरदेशीय अपराध भएको कारणले यसमा विशेषज्ञ टोलीको आवश्यक देखिएपछि सिआइबीलाई जिम्मा लगाइएको थियो। 

 

सिआइबीले साउन २२ गतेयता ३५ दिनसम्म अनुसन्धान गरेको हो। सुरूमा सिआइबीले एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको थियो। पछि एआइजी किरण बज्राचार्यकै नेतृत्वमा ४२ जनाको टोलीले अनुसन्धान गरेको हो।​सिआइबीले विशेषगरी प्राविधिक टोली, अनुसन्धान टोली, अपरेसनल टोली, अभिलेखीकरण गर्ने टोली र इन्टरपोलका एसपी नेतृत्वको छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान गरेको हो। 

 

अनुसन्धानको लागि सिआइबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डिएसपी धर्मराज भण्डारीको टोलीलाई भारतमा पठाएको थियो।

 

काठमाडौं:    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्र...

थप पढ्नुहोस्

काठमाडौं:    भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपुर्ण गाउँपालिका–७ लान्द्रुकमा मंसिर २२ देखि २४ गतेसम्म लान्द्रुक हनि हन्टिङ महोत्सव सुरु हुने भएको छ ।  लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज पोखरामा पत्रकार सम्मे...

थप पढ्नुहोस्