कास्कीमा चेक बाउन्सका १६७ मुद्दा अदालतमा, एउटै चेक करोड बढीको

पाेखरा | भदौ २६, २०८०

कास्कीमा चेक बाउन्सका १६७ मुद्दा अदालतमा, एउटै चेक करोड बढीको

पाेखरा:  बैंकिङ् कसुर तथा सजाय ऐनले चेक बाउन्स (चेक अनादर) र लेनदेनको मुद्दामा प्रहरीलाई अख्तियारी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा यससम्बन्धी हेर्ने छुट्टै शाखा गठन गरिएको छ । शाखामा कार्यरत ४ जनादेखि अन्य सिनियर अधिकृतको व्यस्तता समेत चेक बाउन्सको उजुरीले ह्वात्तै बढाइदिएको छ ।  

 

यसबीचमा प्रहरी र सरकारी वकिलको कार्यालय हुँदै कास्की जिल्ला अदालतमा १ सय ६७ वटा मुद्धा चेक बाउन्सको परेको छ । तर यो संख्या प्रहरीमा परेको उजुरीभन्दा धेरै कम हो । 

 

जिल्ला प्रहरीमा उजुरी लिएर भित्रनेमध्ये साठी प्रतिशतको गोजीमा बाउन्स भएको चेक र प्रमाणीकरण हुने गरेको छ । यस अनुपातमा दैनिक ६ वटा उजुरी चेक बाउन्सको हुने गरेको कास्की प्रहरीले बताएको छ । 

 

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता महेन्द्रप्रसाद अधिकारीका अनुसार ५ लाखदेखि १ करोड रुपैयाँसम्मको चेक बाउन्स मुद्दामा अदालतलाई अभियोजन पठाइएको छ । कोरोनाकाल अघि फाट्टफुट्ट यस प्रकृतिका मुद्दा आएपनि त्यसपछि भने देशैभर ह्वात्तै बढाएको अधिकारीले जनाए । 

 

चेक बाउन्सका मुद्दामा चेकमा उल्लेखित रकम भराउन अदालतले फैसला गर्ने र सोही बमोजिमको रकम चुक्ता गरे अन्य सजाय नगरिने उनले बताए । यद्यपि, अदालतसम्म मुद्दा पु¥याउन निकै लामो समय लाग्ने उनी बताउँछन् । 
 

महान्यायधिवक्ताको कार्यालयले प्रहरीमा उजुरी परेपनि दुबै पक्ष भेला भई लेनदेन सल्टाएमा उक्त मुद्दा अघि नबढ्ने उल्लेख गरेको छ भने अदालतमै मुद्दा पुगेपनि फैसलापूर्व रकम चुक्ता गरे मुद्दा निष्क्रिय हुनेछ । 

 

चेक बाउन्समा उजुरी परेपछि अभियुक्तलाई खोज्न र थप अनुसन्धान गर्न समय लाग्ने भएकाले अदालतसम्म पु¥याउन लामै प्रक्रिया लाग्ने गरेको छ । 

 

प्रहरीले उपलब्ध गराएको सूचनाअनुसार अघिल्लो आर्थिक वर्षमा चेक बाउन्सका ३ सय बढी मुद्दा दर्ता भएको छन् । जसमध्यै एउटै व्यक्तिको नाममा १ करोड ६८ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दा रहेको छ ।  

 

त्यस्तै, हदम्यादको हकमा जाहेरी दिने अवधि कसुर भएको थाहा भएको मितिले १ वर्षभित्र र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोेकिदिएको अदालतसमक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।  

 

प्रहरीले भने एकैपटक वा पटकपटक गरी १ पटकमा ७ दिन नबढ्ने गरी ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ ।

 

सजायको हकमा दोहोरो कानूनी व्यवस्था गरिएको छ । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क)ले चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना

कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यबस्था गरेको पाइन्छ ।

 

त्यस्तै, बैंकिङ्ग कसूर तथा सजायँ ऐन, २०६४ को दफा १५ (१) ले बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने भन्ने व्यबस्था गर्नुका साथै दफा १७ ले कसूर भएको कुरा थाहा पाएको मितिले १ बर्ष भित्र जाहेरी दिन सकिने व्यबस्था गरेको छ । 
 

 

जसकारण चेक अनादर विरुद्ध दुबै ऐन आकर्षित हुने देखिएको पाइन्छ। यस सन्दर्भमा पीडित व्यक्तिलाई उपचारको कुन बाटो उपयुक्त लाग्छ, त्यही अनुसार गर्ने गरिएको पाइएको छ । 

 

चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनुपर्छ । यसरी कुनै पनि बैंकमा भुक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारणसहित बैंकबाट भुक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक बाउन्स हो । चेक जारी गरेपछि खातावालले खाता बन्द गरेमा पनि चेक बाउन्स हुनसक्छ ।

 

कुनै पनि चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भए पनि पर्याप्त रकम छैन भनी जानीजानी चेक काटिदिएमा (चेक धारक अर्थात्) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको खण्डमा अर्थात् कुनै पनि बैंकले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था चेक अनादर हो ।
 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्