एलओडीमा राजश्वको टोली राति ग्राहक बनेर पस्यो, बिहान छापा मार्यो
काठमाडाैं | साउन ३०, २०८०
फाइल तस्बिर
राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ।
कर छली गरेको आशंकामा विभागले एलओडीमा छापा मारेको हो। राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीले सरकारलाई तिर्ने गरेको करबारे बुझ्न खोजेको बताए। ‘हामीले उसको करको स्थिति हेर्न खोजेका हौं। अरू कुरा अनुसन्धानकै क्रममा छ,’ उनले भने।
त्यसक्रममा केही कागजातहरू पनि नियन्त्रणमा लिएको उनले बताए। विभागको टोली गत शुक्रबार राति एलओडी पुगेको थियो।काठमाडौं उपत्यकाकै चर्चित क्लबमा शुक्रबार र शनिबार राति भीड लाग्ने गर्छ। ग्राहक धेरै आउने गरे पनि सरकारलाई तिर्ने कर भने कम हुनसक्ने आशंका विभागलाई थियो। त्यसकै आधारमा विभागले शुक्रबार राति एउटा टोलीलाई खटाएको थियो।
स्रोतका अनुसार विभागको टोली सादा पोशाकमा ग्राहक बनेर राति २ बजे एलओडी पसेको थियो। मध्यराति धेरै ग्राहक हुने भएकाले विभागको टोली २ बजे पसेको थियो। ‘राति १२ बजेदेखि क्लब चलेर बिहान ६ बजेसम्म हुने रहेछ। त्यसैले रातिको २ बजे ग्राहक बनेर गएको थियो,’ स्रोतले भन्यो। टोलीले त्यहाँ आउने ग्राहकको संख्या, क्लबले ग्राहकलाई गर्ने बिल भुक्तानी लगायतका कामहरू नियालेको थियो।
एलओडीले त्यहाँ खाएको बिलसमेत नदिने गरेको टोलीले पाएको थियो। अन्दाजी २३ सयभन्दा बढी ग्राहक आउने ठाउँमा बिल पनि भुक्तानी नगर्ने गरेको स्रोतले बतायो। ‘विभागको टोलीले अन्दाजी २३ सय बढी ग्राहकको संख्या गन्यो। खाएको बिल भुक्तानी पनि नगरेको पायो,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधिहरू रातभर हेरेर मात्रै छापा मारिएको हो।’
ग्राहक कम भइसकेपछि बिहान ५ बजे विभागको टोलीले छापा मारेको हो। त्यसपछि शनिबार मध्याह्न १२ बजेमात्रै फर्किएको थियो। विभागले त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको छ। पैसा राख्ने खुत्रुकेहरू र केही अफिस रहेका कोठा पनि सिल गरेको स्रोतले बतायो। कसैलाई भने नियन्त्रणमा लिएको छैन।
यसका सञ्चालकहरूलाई भने विभागले बोलाएर अनुसन्धान गरिरहेको छ। केही समयअघि पनि एलओडीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
नाबालिगलाई क्लब भित्र छिराएको आरोपमा प्रहरीले सञ्चालकहरूलाई पक्राउ गरेको थियो। पछि म्यानेजरसहित केही कर्मचारीलाई पक्राउ गरी सञ्चालकहरूलाई छाडेको थियो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

