चालकलाई यात्रुको प्रश्न– फिर्केपुल कहिले बन्छ ?

२०७५ असोजमा भएको थियो सम्झौता

पाेखरा | साउन १७, २०८०

चालकलाई यात्रुको प्रश्न– फिर्केपुल कहिले बन्छ ?

पोखरा:  पोखरा बजारभित्र १३ वर्ष बढी सवारी चलाएका दलबहादुर विश्वकर्मा उमेरले दुई बिसे ४ पुगे ।

 

१० वर्ष आफ्नै ट्यासी चलाएका विश्वकर्माले पछिल्लो तीनवर्षयता मालिलको नगर माइक्रो हाँक्छन् ।  

 

पोखराको विभिन्न रुटमा सवारी चलाएका दलबहादुर अहिले हरिचोक–छोरेपाटन, हरिचोक गण्डकी अस्पताल ओहोरदोहोर गर्छन् । उनी कति किलोमिटर कुदे भन्ने आफैलाई हेक्का छैन । यो उनको रुटिङ नै हो । उनी गुड्ने रुट भूपी शेरचन राजमार्गको हरिचोक–जिरो किमी सडकखण्ड हो ।

 

सवारी साधनको गति तिब्र नभएपनि कहिलेकाँही माइक्रोबसहरुको बीचमा कडा प्रतिस्पर्धा हुन्छ । त्यसैले कहिले सवारी हुइकाउनै पर्ने बाध्यता रहने दलबहादुर बताउछन् ।

 

दिनहुँ गुड्ने सडकमै पर्ने पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्केपुल देखेर आजित छन् । अन्यत्र ४ लेनको भएपनि उक्त पुल २ लेनको भएकाले अत्याधिक दुर्घटना हुदै आएको उनको बुझाई छ ।

उनलाई फिर्के पुल कहिले बन्ला भन्ने पिरलो छ । ‘अचेल त यात्रुपनि आजित भइसकेछन्, दलबहादुर सुनगाभा न्यूजसँग गफिन्छन्, ‘जब फिर्के पुल आइपुग्छ त्यसपछि मलाई पो सोध्छन् गुरुजी यो फिर्केपुल कहिले बन्छ ह ?’

 

यो प्रश्नको जवाफ दलबहादुरले विगत केही वर्षदेखि खोजिरहेका छन्, तर उनीसँग थ्याक्कै जवाफ छैन ।
‘म पनि तपाइहरु जस्तै त होनी । तपाइहरुलाई देशको स्थिती थाहा छदैछनी ।’ आफु जवाफिएको सुनाउछन् ।

 

आफ्नो साधनमा प्राय यात्रुहरु दोहोरीने उनले सुनाए ।  ‘एउटै रुट हिड्ने भएपछि प्राय जागिरेहरु दोहोरिनुहुन्छ । त्यही भएरपनि होला उहाँहरुको गुनासो पनि पुल अझै किन बनेन भन्ने हुन्छ, उनको प्रश्न छ, ‘होइन यो पुल नबनाउने कम्पनीलाई कारवाही नै हुदैन कि के हो ?’

 

पोखरा– बागलुङ सडक खण्डको जिरोदेखि हरिचोक खण्ड ६ लेनको बनेको वर्षौ भयो तर पोखरा ४ र ५ जोड्ने फिर्केपुल २ लेनमा सिमित हुँदा अत्याधिक जोखिम बढेको छ । 

 

एक्स्ट्राडोज्ड पुल बनाउने सम्झौता

 

निर्माण कम्पन्नी (शान्ति आरोग्य जेभी सानेपा) ले सम्झौता अनुसार काम गरेको भएको फिर्केपुलमा एक्स्ट्राडोज्ड पुल २०७७/०७८ को चैत महिनामै सम्पन्न भइसक्थ्यो । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र मुआब्जाको कारण देखाउँदै निर्माण कम्पनीले महामारीको समयमा काम रोकेको थियो ।  

 

सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी उञ्जल शर्माले निर्माण कम्पनीले सम्झौताको केही वर्ष मुआब्जाको कारण काम रोके पनि गएको असोजमा मुआब्जाको समस्या समाधान भइसकेको बताए । 

 

सडक डिभिजन कार्यालय पोखराले २०७५ असोज ८ गते शान्ति जेभी सानेपा ललितपुरसँग २०७७/०७८ को चैत ३० सम्म एक्स्ट्राडोज्ड पुल निर्माण गर्ने गरी सम्झौता गरेपनि पुल निर्माण हुन सकेन । 
 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण निर्माण कम्पनीले काम नगरेको भन्दै मन्त्रीपरिषद्को बैठकले पूर्वाधारका काम एक वर्ष म्याद थप गर्ने निर्णय गरेको थियो । जसमा पोखरा फिर्केपुल निर्माण गर्न गत आर्थिक वर्षको २०७९/०८० को असार मसान्तसम्म काम म्याद थप भयो तर प्रगति ३० प्रतिशत मात्र देखियो थियो । 

 

सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी शर्माले अहिले बर्षाको समय भएकाले पुल निर्माणको काम रोकिएको बताए । 

‘सम्झौता गरेको मितिमा मुआब्जा र कोरोना भाइरसका कारण काम रोकियो, मन्त्री परिषद्को बैठकले नै पूर्वाधारको क्षेत्रतर्फ एकवर्षको म्याद थप्यो’, शर्माले भने, ‘म्याद थप भएको वर्ष दिन भित्र पनि काम सकिएन, काम गरे एक वर्षमा सकिन्छ तर निर्माण कम्पनीले काम नै गरेन ।’
 

ठेक्का तोडेर जाँदा लागत बढ्ने र काममा अझै ढिलासुस्ती हुन सक्ने शर्माले संकेत गरे । ‘तेस्रो पटक म्याद थप हुन सक्छ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा त्यसको लागत बढेर जान्छ, पुल निर्माणमा थप ढिलाइ हुन नदिन तेस्रो पटक म्याद थप हुन सक्छ’, सूचना अधिकारी शर्माले भने । 

 

सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी शर्माका अनुसार नेपालमै पहिलोपटक (पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको) स्पेसल एक्स्ट्राडोज्ड मोटरेबल पुल निर्माण हुन लागेको हो ।  
‘पुरानो पुललाई यथावत राखेर त्यसको दायाँ र बायाँ २/२ लेनको २ वटा पुल निर्माण गर्न लागिएको हो, उनले भने,  कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर स्पेसल एक्स्ट्राडोज्ड मोटरेबल पुल बन्नेछ ।’

 

उनका अनुसार शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा जिम्मा लिएको छ ।

 

सडक डिभिजन कार्यालय पोखराका ईन्जिनियर सहनशिला कायस्थले निर्माण कम्पनीले ३० प्रतिशत काम गरेको जानकारी दिइन् । 

‘निर्माण कम्पनीले पुलको फाउण्डेशनको एकतर्फ सकेको छ, भौतिक प्रगतितर्फ ३० प्रतिशत काम सम्पन्न भएको छ’, कायस्थले भनिन्, ‘निर्माण कम्पनीले कोभिडका कारण काम नभएकाले सरकारले थपेको एकवर्षमा काम सकेन म्याद थप गर्न पत्र पठाएको छ म्याद थप भएर काम हुन्छ होला ।’

 

अहिले सञ्चालनमा नै रहेको पुलको दायाँ र बायाँ तर्फ बन्ने पुलको चौडाई ३/३ मिटरको हुनेछ । पुलको दायाँतर्फ निर्माण कम्पनीले काम सुरु गरेको छ भने बायाँतर्फ भने खानेपानी र सुकुम्बासी बस्तीको पनि समस्यासमेत देखिएको छ । 


 

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्