धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ ।   केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आ...

काठमाडौं:    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् ।  प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् ।  आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो । यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

पोखराः    कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–५, सर्किट २ मा ताइपेइका के हाउ हाङले पुरुषतर्फ तथा रसियाकी लैला आक्मेतोवाले महिलातर्फ उपाधी जितका छन् ।  नेपाल टेनिस संघको सहयोगमा पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हङले अमेरिकाका हानु पटेललाई ‘रिटायर्ड हर्ट’मा पराजित गर्दै खेलमा जित हाँसिल गरेका हुन् । दोश्रो सेटको खेलमा १–० ले पछि परेका हानुले स्वास्थ्यमा आएको खराबीका कारण खेल छाडेका थिए । पहिलो सेटको खेल हाङले ६४ ले आफ्नों पक्षमा पारेका थिए ।  महिलातर्फको फाइनलमा रसियन खेलाडी आक्मेतोवाल भारतकी दुर्गान्सी कुमारलाई ६–१, ६–१ ले पराजित गरिन् । प्रतियोगितामा विजयी खेलाडीहरुले आइटीएफको महत्वपूर्ण ३० अंक पाएका छन् । त्यसैगरि दोश्रो स्थान हाँसिल गरेका पुरुष तथा महिला खेलाडीले १८ अंक जोडेका छन् । पुरुषतर्फ भारतका बंश नन्दल र महिलातर्फ भारतकी काइरा सिद्धार्थले दोश्रो स्थान हाँसिल गरेका थिए ।  विजयी खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले मेडल प्रमाण–पत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै कायस्थले पोखराले टेनिसमा महत्वपूर्ण सफलता हाँसिल गरेको बताए । वर्षेनी यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले खेलाडीलाई व्यवसायीकताको बाटोमा अघि बढाएको कायस्थको भनाई थियो । खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि टेनिस सिद्ध भएको उनले जनाए । पोखराको टेनिस विकासमा निजी क्षेत्रको अहम भूमिंका रहेको जनाउँदै अब सरकारी र कर्पोरेट क्षेत्रले पनि यसको महत्व बुझ्न आवश्यक रहेको औल्याए ।  आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गर्दै अब पोखरामा छिट्टैनै माछापुच्छ्रे राष्ट्रिय ओपन तथा भेट्रान्स प्रतियोगिता आयोजना गरिने जनाए । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । 

धनगढी:   धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।   शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो । लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले हराएको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले एक–एकको बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो ।   उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ ।   प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले रु २० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए ।   उनीहरूले जनही रु १०–१० हजार पाए । पिएफए  क्लब अत्तरियाको आयोजनामा भएको प्रतियोगितामा देशका पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।

महेन्द्रनगर:   नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् ।   उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् ।   खेल पदाधिकारी र प्रशिक्षक आफ्नो जिम्मेवारी पूरा गर्नबाट भने चुकिरहेका छन् । कञ्चनपुरबाट सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै ब्याडमिन्टनतर्फ पुरुष र महिला गरी छ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन कञ्चनपुरका ब्याडमिन्टन खेलाडी व्यक्तिगत मेहेनतले मात्रै राष्ट्रिय खेलकुद प्रतियोगितासम्मको यात्रा तय गरेका हुन् । उनीहरूको खेल सामग्रीलगायतको व्यवस्थापनतर्फ न जिल्ला खेलकुद न त प्रदेश खेलकुद परिषद् नै ध्यान दिएको छ ।   “प्रदेशस्तरबाट तीन महिला र तीन पुरुष खेलाडी छनोट भयौँ”, ब्याडमिन्टनका एक खेलाडी भन्छन्, “आ–आफ्नो ठाउँमा तयारी गर्नु भनेका छन्, हामीलाई एउटा कर्कको डिब्बा कहीँबाट उपलब्ध छैन ।” खेलाडी स्वयंले प्रशिक्षक खोज्नुपर्ने अवस्था छ । अभ्यास आफ्नै ढङगले गर्नुपर्ने अवस्था रहेको ती खेलाडीले बताए । प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि जाँदा जिल्ला खेलकुद विकास समितिले यहाँका खेलाडीलाई एक/एक सेट जर्सी मात्र उपलब्ध गराएको थियो । कराते खेलाडीलाई फुटबलको जर्सी उपलब्ध गराएको पाइएको छ । “जर्सी त दिए तर फुटबलको, अरु केही सहयोग मिलेको छैन”, करातेबाट छनोटमा परेका कञ्चनपुरका एक खेलाडीले भने, “हामी नियमित प्रशिक्षणबाट सोझै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछौँ ।”   कञ्चनपुरका एक खेलका प्रशिक्षकका अनुसार यहाँ बन्द प्रशिक्षणका कुनै सुरसार छैन ।   प्रदेश खेलकुदले कुनै सहयोग गरेको छैन । “कम्तीमा एक हप्ताको बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने थियो”, ती प्रशिक्षकले भने, “हालसम्म खेलाडीलाई खेलसामग्री उपलब्ध गराएको छैन, बन्द प्रशिक्षणको कुनै टुङ्गो छैन ।” यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टोलीको प्रदेश राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापन गर्न नसकेको खेलाडीको गुनासो छ । “एउटा कर्कसमेत नदिने प्रदेशले खेलाडीबाट पदकको मात्रै आश गरेका छन्”, एक खेलाडीले भने, “यो भन्दा लाजमर्दो कुरा अरु के हुनसक्छ ।”   सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रदेशस्तरमा सहभागी हुने खेलाडीलाई जिल्लास्तरबाट कहीँ ट्रयाकसुट कतै जर्सीको व्यवस्था गरिएको छ । “खेलअनुसार चाहिने पोशाक उपलब्ध हुन सकेको छैन”, एक प्रशिक्षकले भने, “बोल्दा विरोधी भइएला भन्ने डर ।”   जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले यही असोज २२ गतेदेखि यहाँका खेलाडी नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्र्ने बताए । “बन्द प्रशिक्षणलगायत व्यवस्थापन प्रदेशले गर्ने हो ।” उनले भने, “बन्द प्रशिक्षणको विषयमा छलफलमात्रै भएको छ ।” प्रदेश छनोटका बेला खेल सामग्री पाएको उनको भनाइ छ । नवौँ राष्ट्रियका लागि सुदूरपश्चिम प्रदेशबाट छ सय १५ खेलाडी सहभागी हुने भएका छन् ।   गत भदौ ३१ गतेदेखि धनगढी र कञ्चनपुरका विभिन्न स्थानमा खेलाडी छनोट गरिएको थियो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट दुई सयभन्दा बढी खेल प्रशिक्षक र व्यवस्थापक सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए ।   राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम सहभागी हुनेछ । प्रदेशस्तरको छनोटमा यहाँ दुई हजार पाँच सय ३६ खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए । सुदूरपश्चिममा १६ खेलका खेलाडी प्रतियोगिताबाट छनोट गरिएका छन् भने हक्की, जुडो, करातेलगायत खेलमा सोझै छनोट गरिएको सिंहले बताउनुभयो ।   सदस्यसचिव सिंहका अनुसार फुटबल, भलिबल, क्रिकेटलगायत सामूहिकरूपमा खेलाइने खेलका लागि एक हप्ताको बन्द प्रशिक्षण हुने र व्यक्तिगत खेलाइने खेलका लागि भने बन्द प्रशिक्षण नहुने भएको छ । “चाडपर्वको समय छ, धेरैजसो खेलाडी पर्व मनाउन घर गइसकेका छन्, बन्द प्रशिक्षणका लागि हामीसँग समय कम छ”, सिंहले भन्नुभयो, “बाँकी प्रतियोगिता सहभागिताको सबै तयारी भइसकेको छ ।” प्रदेश खेलकुदका लागि प्रदेश सरकारले रु चार करोड, प्रदेश खेलकुद परिषद्ले रु ९५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले रु ४९ लाख उपलब्ध गराएको सदस्यसचिव सिंहले जानकारी दिनुभयो ।

  काठमाडौं । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।   “डेङ्गुको सङ्क्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको छ”, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्याङ्क सङ्कलन हुने गरेको छ ।” उहाँले पालिका र प्राथमिक स्वास्थ्य केन्द्रस्तरसम्मको डेङ्गु रोगको बिरामीको तथ्याङ्क अझ बढी रहे पनि सङ्कलन हुन नसकेको बताउनुभयो ।   त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ ।   “सङ्घको सशर्त अनुदानअनुसार डेङ्गु को लार्भा नष्ट गर्न पालिकास्तरमा बजेट आएको छ”, उहाँले भन्नुभयो, “यहाँका विभिन्न पालिकाले सो अभियान सञ्चालन गरिरहेका छन् ।” त्यसैगरी गर्मी क्षेत्रमा हुने डेङ्गुको सङ्क्रमण यहाँका पहाडी जिल्लामा समेत देखिन थालेको छ ।   निर्देशनालयको तथ्याङ्कानुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेल्धुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र बाजुरामा आठ–आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।   निर्देशानालयका अनुसार डेङ्गु  सङ्क्रमण नियन्त्रणका लागि नागरिकहरु पनि स्वयं जिम्मेवार हुनुपर्ने छ । “असोज अन्तिमपछि सङ्क्रमण कम हुँदै जान्छ”, उहाँले भन्नुभयो, “लामाखुट्टे नष्ट गर्ने अभियान सञ्जालन गर्नुपर्छ ।”

  अछामको पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।   गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

डोटी  :   दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।    नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।   नगरबसमा छुट सुविधा लिने व्यक्तिले यात्रा गर्दा आफ्नो परिचयपत्र अनिवार्य देखाउनुपर्ने नगरप्रमुख बाजीसिंह खड्काले जानकारी दिनुभयो । नगरपालिकाले नगरबसमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने निर्णय गरेपछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थी निकै खुसी भएका छन् ।

  कैलाली :  कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा भेटिएको माकुरो । आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।

काठमाण्डौँ :      सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो ।     डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेसिन खरिद गरेको छ । खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्यसमेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो ।   “प्रदेशमै पहिलोपटक धान रोप्ने अत्याधुनिक मेसिन भित्र्याएका छौँ”, उहाँले भन्नुभयो, “यस मेसिनको मद्दतले एक घण्टामा एक बिघा खेतमा बर्खे र चैते धान सहजरूपमा रोप्न सकिन्छ । ट्रेमा बेर्ना तयार गरी मेसिनमा राखेर रोप्ने गरिएको छ ।”   धान रोप्नका लागि मेसिनको प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट हुँदैन । कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नु पर्दैन । “चालु आवमा मेसिनलाई परीक्षणका रूपमै सञ्चालन गर्छौँ”, कार्यालय प्रमुख रिमालले भन्नुभयो, “किसानको प्रतिक्रिया लिएर अर्को आवदेखि कार्यालयबाटै करारमा चालकको व्यवस्था गरी किसानलाई थोरै शुल्क लिएर मेसिन उपलब्ध गराइने योजना बनाउँछौँ ।”   चितवनलगायतका ठाउँमा धान रोप्ने मेसिनको प्रयोग सहजरूपमा भइरहेको देखेपछि किसानलाई धान रोप्नमा सहजता ल्याउनका लागि र किसानलाई आधुनिक कृषियन्त्रप्रति आकर्षित गराउनका लागि मेसिन ल्याइएको उहाँले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत १० बिघा जग्गामा धानखेती गरिएको छ ।