पोखरा: गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले बताएको छ । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ’ मुख्यमन्त्री पाण्डेद्धारा जारी अपिलमा भनिएको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकार सँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताउनुभएको छ। शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकप २०२४ को एसिया छनोटको फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ। शनिबार क्यानले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्प परी मृत्यु भएका तथा घाइते परिवारलाई ५० प्रतिशत रकम दिने जानकारी दिएको हो। क्यानले फेसबुकमार्फत भनेको छ,‘आइसिसी टि(२० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं।’ क्यानले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्ने भएको छ। नेपाल र ओमानबीचको फाइनल खेल आइतबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको भिडन्त पक्का गरेको हो। आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।
पोखरा: पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ । लामो समय पिसाबसम्बन्धि रोगले थलिएका उनको शनिबार विहान निधन भएको सुनिल उलकले बताए । ‘लामो समय बिरामी हुनुभयो । आज निधन भएको छ,’ उनले भने, ‘केही दिन शवलाई अस्पतालमै राखिन्छ । सोमवार अन्त्येष्टि गर्ने तयारी छ ।’ स्मिथको पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचार भइरहेको थियो । उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् । स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत स्मिथले अध्यापन गरेका थिए । उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए । स्मिथ पोखरा महानगरपालिका १८ मा जग्गा किनेर बसेका थिए । उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पाले । उनी नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन् । पहिलो नागरिकता सर्वोच्चको सफल आरोहण गरेका एडमण्ड हिलारीले पाएका थिए ।
काठमाडौं: शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । जसमा जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी, रूकुम पश्चिममा ३७ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । यसैबीच जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो । साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनुभएको छ ।
काठमाडौं: जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो । साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ । यसैगरी, उहाँले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनुभएको छ ।
सुर्खेत: शुक्रबार रातिको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो। उपमेयर सिंहका काका जय सिंहले पनि भूकम्पमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्। नलगाड नगरपालिका–८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।
रुकुम पश्चिम — जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए । साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।
काठमाडौं: मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायत देशभर नै महसुस भएको छ। पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो। क्षतिको विवरण आउन बाँकी छ।
पोखरा: पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । पोखरा लगायत विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।

