पोखरा: पोखराको न्यूरोडको मुहार फेरिएको छ । सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोपेपछि मुहार फेरिएको हो । भिडियाे: आज (सोमबार) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरे । वृक्षारोपण पश्चात बोल्दै मेयर आचार्यले स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण इक्सोरा प्रजातिको बिरुवा लगाइएको धारणा राखे । उनका अनुसार डिभाइडर भरी करिब ८ सय बिरुवा लगाइने छ । बिरुवाको संरक्षणका लागि स्थानीयहरूसमेत जिम्मा दिएको बताए । ‘विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, ‘बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइने छैन त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध छ ।’ उनले परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको बताउदै राम्रो रिजल्ट आएको खण्डमा अन्य स्थानमा पनि लगाइने बताए । पोखरामा उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगेको छ । पोखराका अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ । थप तस्बिरहरु:
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा उद्घाटन भएको करिब ६ महिनापछि चीनको छिन्दूबाट आएको सिचुवान एयरलाइन्सको जहाजले पोखरामा सफल अवतरण गरेको छ । नेपालबाट व्यावसायिक रुपमा उडान भर्दै आएको सिचुवान एयरलाइन्सको जहाजले पहिलो पटक चीनको छिन्दूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल चार्टड उडानसँगै अवतरण गरेको हो । फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडी र पर्यटकसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको टोली चीनको छिन्दूबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँगै ७ जनाको टोली जेठ २७ गते चीन भ्रमणमा गएका थिए । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको छिन्दुबाट सिचुवान एयरलाइन्स न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु लिएर पोखरा आएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ९ बजेर ६ मिनेटमा सफल अवतरण गरेको जहाज काठमाडौं फर्केको छ । जहाजले काठमाडौंबाट पुनः व्यावसायिक उडान भर्ने जनाइएको छ । पोखरामा असार ८ र ९ गते ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको लिङ्जी नगरबाट प्रमुखको नेतृत्वमा ८४ जनाको टोली आज पोखरा आएको छ । चीनको लिङजी नगर प्रमुखको नेतृत्वमा १९ जना, चिनियाँ कलाकार २० र ४५ जना ड्रयागन बोट रेसका खेलाडी रहेको पर्यटन व्यवसायी रविन्द्रराज पौडेलले जानकारी दिए । असार ८ र ९ गते फेवातालमा हुने प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फत रेस हुनेछ । तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज