नक्कली भुटानी शरणार्थी प्रकरणमा पोखराका जिसीले बुझेका थिए करोड

पाेखरा | जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोखराका जिसीले बुझेका थिए करोड

पाेखरा:  नक्कली भुटानी शरणार्थी प्रकरणमा ५८ दिन लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाण्डौंले तयार पारेको प्रतिवेदन  जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

 

जसमध्ये प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालको बयानले पोखरामा क्याटरिङ् व्यवसाय सञ्चालन गरिरहेका लिला जिसीसमेत मुछिएका छन् । जिसी नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउर्जामन्त्री टोपबहादुर रायामाझीका स्वकीय सचिव हुन् । 
 

 

पूर्वउर्जामन्त्री रायामाझी यही प्रकरणमा हाल प्रहरी हिरासतमा रहेका छन् । दुलालले प्रहरीलाई दिएको बयानमा स्वकीय सचिव लिला जिसीमार्फत मन्त्री रायामाझी र आफुलाई पनि पैसा चाहियो भन्दै १ करोेड रुपैयाँ बुझेका हुन् । 

 

त्यस्तै, जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी वलीका स्वकीय राजेश बज्राचार्यले १ करोड रुपैयाँ नगदै बुझी लिएको दुलालका बयान छ । 

 

स्वकीय जिसी पोखराको बुद्धचोकस्थित कान्तिपुर क्याटरिङ्का सञ्चालकसमेत हुन् । 

 

नेकपा माओवादी र नेकपा एमालेबीच पार्टी एकता भएपछि जिसी रायामाझीका स्वकीय रहेका हुन् । पछि पार्टी पुरानै अवस्थामा फर्किएपछि रायामाझीसँगै जिसी पनि एमालेमै रहेका हुन् । 

 

माओवादी र एमाले कास्कीका जिम्मेवार नेताहरुले जिसीबारे खासै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । ‘जिसीजी रायामाझीको पहिल्यैदेखि स्वकीय रहेछन्’ एमाले नेता एवं पूर्व प्रदेश सांसद राजीव पहारीले भने ‘पछि रायामाझीजी एमालेमै रहेपछि पनि सोही भूमिकामा रहनुभयो तर पार्टीको कुनैपनि जिम्मेवारीमा हुनुहुँदैन ।’

 

पहारीले उनी वडा नम्बर १० कै हुनुपर्ने बताएका छन् । 

 

त्यस्तै, माओवादी नेता एवं गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजी बरालले पनि जिसीकाबारे खासै जानकारी नभएको बताएका छन् । 

 

‘पोखराकै कान्तिपुर पार्टी प्यालेसमा भेट भएको हो, त्यस्तो दोहोरो कुराकानी पनि भएन’ बराल भन्छन् ‘पछि रायामाझी कमरेडसँगै हिड्नुहुन्थ्यो, माओवादी हुँदा पनि जिसी पार्टीको कार्यकर्ता होइनन् ।’

 

यस विषयमा जानकारी लिन खोज्दा जिसीसँग सम्पर्क हुन सकेन । रायामाझीलाई विशेष प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि जिसी सम्पर्कविहीन भएका छन् । त्यसयता उनले प्रयोग गर्ने मोबाइल नम्बरमा फोन गर्दा क्याटरिङ्का कर्मचारीले रिसिभ गर्छन् । 

 

दुलालले प्रहरीसमक्ष दिएको बयानको अंश:

 

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु १ करोड बुझी लिएको । 

 

त्यसैगरी तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।

 

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।

 

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा= अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र उर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझी लिएका हुन् ।

 

काम नभएपछि पटकपटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं, ६० प्रतिशत लैजानु भनी प्रतीक थापामार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरुसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भन्ने प्रतिवादी केशवप्रसाद दुलालले गरेको थप बयान कागज ।
 

 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्