पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं | फागुन १०, २०७९

पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्वत:  राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिवराह मन्दिरको आज (बुधबार) उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो ।

 

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको भनाइ छ । “सार्वजनिक रुपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, संवर्द्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ् ।”

 

जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामेडाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

 

“प्रसिद्ध बराहताल संरक्षणका लागि समुदायस्तरबाट भएको प्रयासका लागि धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो,“पर्वत जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको अनुभूत भएको छ ।”

 

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्य सचिव शङ्करदास वैरागी, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकालाई धार्मिक पर्यटकीय गन्तव्य र कृषिको माध्यमबाट विकसित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

 

लामिछाने र घर्ती क्षेत्री समुदायले रु. एक करोड ५० लाखको लागतमा दुई वटा मन्दिर निर्माण गरेको आयोजकले जनाएका छन् । मन्दिर पुनर्निर्माणको मुख्यदाता रवीन्द्रजङग लामिछनेले रु. २५ लाख सहयोग प्रदान गर्नुभएको निर्माण समितिका नवीन जिसीले जानकारी दिनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपतिको भ्रमणले पर्यटकीय सम्भावनायुक्त वराहताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचार तथा पहिचान दिलाउन सहयोग पुगेको बताउनुभयो ।

 

समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा रहेको वराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल छन् । जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको वराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला –२ का वडाअध्यक्ष प्रकाश जिसीले बताउनुभयो । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्